काठमाण्डौ/ नेपाली क्रिकेटका निवर्तमान क्याप्टेन सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। अदालतले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

नाबालिका बलात्कार आरोपमा कारागारमा रहेका लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डौको आदेश उच्च अदालतले बदर गरेको हो। उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा बिहीबार भएको सुनुवाईपछि लामिछानेलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गरेको हो।

भदौ ५ गते राति काठमाण्डौको पिङ्गला स्थानको एक होटलमा लामिछानेले आफुलाई बलात्कार गरेको भन्दै प्रहरीवृत्त गौशालामा जाहेरी परेको थियो। क्यारेबियन क्रिकेट लिग खेल्न जमाइकामा रहेका लामिछाने २० असोजमा स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

१८ कात्तिकमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधव घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको थियो।