काठमाण्डौ/ संघीय राजधानी काठमाण्डौको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक ‘वाइप्लेन क्याथल्याब’ सञ्चालन गरेको छ। कलेजले न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने प्रविधिसहितको अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको हो।

नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक वाइप्लेन क्याथल्याब सञ्चालन गरेको भन्दै मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपालले ‘क्याथल्याब त धेरैतिर छन्, तर न्यूरो, कार्डियो र भास्कुलर सर्जरी गर्न मिल्ने वाइप्लेन क्याथल्याब नेपालमा अन्त छैनन्, केएमसीले सुरु गरेको यो नेपालकै पहिलो अत्याधुनिक वाइप्लेन क्याथल्याब हो’ भन्नुभयो।

जर्मनबाट उपकरणहरु ल्याएर करिब २५करोड रुपैँया लागतमा अत्याधुनिक क्याथल्याब सञ्चालन गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो। सरकारी अस्पतालकै दररेटमा केएमसीले सेवा उपलब्ध गराउने दाहालले बताउनुभयो ।

गम्भीर प्रकारको मस्तिष्कघात भएका बिरामीलाई यो क्याथल्याबभित्रै सिटी स्क्यान गर्न सकिनेछ। जटिल अवस्थाको भास्कुलर र न्यूरो शल्यक्रियाका लागि थ्रीडी इमेजिङ्ग र थ्रीडी रोडम्यापको सुविधा पनि छ। मुटुको अप्रेशन नगरी भल्व फेर्ने प्रविधिलाई गाइड गर्ने थ्रीडीसहितको ट्यावीको सुविधा पनि यो क्याथल्याबमा छ। यस्तो सुविधा नेपालका अन्य क्याथल्याबमा नभएको चिकित्सकहरु बताउँछन्। चिकित्सकहरुका अनुसार अन्य क्याथल्याबको तुलनामा यसमा निकै कम रेडिएसन प्रयोग हुन्छ। यहाँ ५५ इञ्चको स्क्रीनमा हेरेर चिकित्सकले शल्यक्रिया गर्छन्। KMC Cathlab-Photo1

अत्याधुनिक सुविधासम्पन्न क्याथल्याब भएकाले विरामीलाई पनि निकै सहज हुने चिकित्सकहरुको भनाई छ। केएमसीले पछिल्लो समय अत्याधुनिक सेवा सुविधा बिस्तार गरिरहेको छ। सफल मेडिकल व्यवसायीका रुपमा ख्याती कमाएका डा.सुनिल शर्माको प्रवेशसँगै केएमसीले फड्को मारेको हो। डा.शर्माले केएमसीको कार्यकारी अध्यक्ष पदबाट भने राजीनामा दिनुभएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्न पदबाट राजीनामा दिनुभएका डा.शर्मा चुनाव जितेर सांसद बनिसक्नुभएको छ।