इलाम । इसाको मरणकालपछि चलेको संवत्को नयाँ वर्ष २०२३ मनाउने पर्यटकले इलामका चर्चित पर्यटकीय स्थल कन्याम र अन्तु भरिभराउ भएका छन् । सधैँजसो पर्यटकले भरिभराउ हुने कन्याम र अन्तुमा यो नयाँ वर्ष मनाउन पर्यटक उल्लेखनीय सङ्ख्यामा आउँदा यी दुई पर्यटकीय स्थल भरिभराउ भएका हुन् । यहाँ पर्यटकले होटल तथा होमस्टे अग्रिम बुकिङ गरे । नेपालका विभिन्न जिल्ला र विशेष गरी भारतीय पर्यटकले यस पटक अग्रिम रूपमा होटल, होमस्टे बुकिङ गरे ।

सधैँ भीड हुने यी क्षेत्रमा अङ्ग्रेजी नयाँ वर्षमा पर्यटकको चाप बढ्ने भएर कोठा नपाइने भएपछि पर्यटकले अग्रिम बुकिङ गरेको अन्तुका होमस्टे सञ्चालक रुद्र घिमिरेले जानकारी दिए । उहाँका अनुसार अन्तुका सबैजसो होटल, होमस्टे शुक्रबारदेखि आइतबारका लागि बुकिङ भए । घिमिरेले भने, ‘अङ्ग्रेजी नयाँ वर्ष मनाउन यस पटक भारतीय पर्यटकको ओइरो लागेको छ ।’भारतको सिक्किम, विहार, सिलीगुडी, दार्जीलिङ र पश्चिम बङ्गालका पर्यटकले होटल अग्रिम बुक गरे । अन्तुमा ६४ भन्दा बढी सामुदायिक र निजी होमस्टे अनि ५० भन्दा बढी होटल तथा कटेज सञ्चालनमा छन् ।

अन्तुमा पर्यटक झुल्केघामको दृश्यावलोकन गर्न आउने गरेका छन् । यस्तै अन्तु पोखरीमा डुङ्गा सयर गर्न र घोडचढी गरी चिया बगान डुल्न पर्यटक रुचाउँछन् । झिसमिसेमै बङ्गालको खाडीबाट लालघामको झुल्कोले सेताम्मे कञ्चनजङ्घा र कुम्भकर्ण हिमाल रङ्गाउँदै अन्तुडाँडालाई चुम्बन गर्दा पर्यटक फुरुङ्ग बन्छन् । चियाबारी, फूलबारीभित्र चिटिक्कै सजाइएका काठेघर अनि स्थानीय उत्पादनको स्वाद चखाउँदै चलाइएका होमस्टेले पर्यटकलाई तान्ने गरेको अन्तु आउनुभएका आन्तरिक पर्यटक विकास ओलीले बताए । कन्याम पनि नयाँ वर्ष मनाउने पर्यटकले खचाखच छ । पर्यटकले आइतबारसम्मका लागि सबै होटल बुक गरे । कन्यामका होटल व्यवसायी टेकराज गिरीका अनुसार ढिलो गर्दा बास पाइँदैन भनेर पर्यटकले अग्रिम बुकिङ गरेका हुन् ।नेपाल र भारतका पर्यटकले कन्याममा नयाँ वर्ष मनाउने योजना बनाएको उनले बताउनुभयो । ‘विगत तीन– चार वर्षदेखि अङ्ग्रेजी नयाँ वर्ष पर्वकै रूपमा यहाँ मनाउन थालिएको छ,’ गिरीले भने ।

भारतको दार्जीलिङबाट अङ्ग्रेजी नयाँ वर्ष मनाउन केही दिन अघिदेखि अन्तुमा बसिरहेका पुरस्कर भण्डारी जति आए पनि अन्तु र कन्याम आइरहुँ लाग्ने बताउँछन् । उनी भन्छन्, ‘हामीलाई यति नजिकै रहेका अन्तु र कन्यामले हरेक वर्ष नयाँ वर्षमा तान्न थालेका छन् ।’ ‘साँच्चै प्रकृतिसँग रमाउने भए कन्याम र अन्तु आए पुग्छ,’ भण्डारीले भने । कन्यामका चियाबारीमा रमाउने पर्यटक बढी भेटिन्छन् । विभिन्न जातजातिको वेशभूषामा सजिएर तस्बिर खिचाउनेदेखि चियाको स्वाद चाख्नसम्म पर्यटक आउने गरेका छन् ।

सूर्याेदय नगरपालिकाले कन्याममा पर्यटकलाई लक्षित गरी सेल्फी पार्क, टिकटक पार्क र निजी लगानीमा स्काई वल्कसमेत निर्माण गरिएको छ । पर्यटक राति अबेरसम्म कन्याममा रमाउने गरेका छन् । सूर्याेदय नगरपालिकाका नगरप्रमुख रणबहादुर राईले दुई देशबीचको सामिप्य अङ्ग्रेजी नयाँ वर्षले बढाएको बताए । उनले भारतीय पर्यटक अन्तु र कन्याम आउन रुचाउने गरेको पनि बताए । नयाँ वर्ष मनाउने पर्यटकले इलामको पानीटार, सन्दकपुर लगायतका क्षेत्रसमेत खचाखच छन् ।