काठमाडौं । आज (शुक्रबार) देखि श्री स्वस्थानी व्रत प्रारम्भ भएको छ । पौष शुक्ल पूर्णिमादेखि शुरु हुने व्रत माघ शुक्ल पूर्णिमासम्म एक महिना जारी रहने छ । आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धा भक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ । स्वस्थानी व्रतका बेला विभिन्न ठाउँमा मेला समेत लाग्ने गर्दछ ।

काठमाडौंस्थित शालीनदीमा प्रत्येक वर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आजबाट शुरु भएको छ । स्वस्थानी व्रत कथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकांक्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव-पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रत कथा प्रचलन हुँदै आएको मानिन्छ । 

घर परिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुष समेत व्रत बस्ने परम्परा छ । एक महिनासम्म विशेष पौराणिक कथा सुनेर व्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरूको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममूलक पौराणिक धर्मग्रन्थ पनि हो ।