‘कबड्डी ४’ र ‘दुई नम्बरी’ हिट भएपछि उपासना सिंह ठकुरीद्वारा पारिश्रमिक बृद्दि ‘हात्तीछाप’मा महिला पात्रको कास्टिङमा ढिलाइ

  • न्युजडेस्क
  • प्रकाशित मिति: पुष २०, २०७९

सुनसरी/ आँफु अभिनित दुई चलचित्र ‘कबड्डी ४’ र ‘दुई नम्बरी’ हिट भएपछि उपासना सिंह ठकुरीले आफ्नो पारिश्रमिक बृद्दि गरेकी छन्। ‘दुई नम्बरी’मा ६ लाख रुपैयाँमा काम गरेकी उपासनाले नयाँ चलचित्रमा पारिश्रमिक बढाएर १० लाख हाराहारीमा मागेकी हुन्।

ठकुरीले अभिनय गरेका दुईवटा चलचित्र बक्स अफिसमा हिट भए। ‘कबड्डी ४’ले सर्वाधिक कमाउने नेपाली चलचित्रको कीर्तिमान रच्यो भने ‘दुई नम्बरी’ पनि सुपरहिट बन्यो ।

आँफुले अभिनय गरेका दुईवटा चलचित्र हिट भएपछि उपासनाले पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरेपछि ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी चलचित्र ‘हात्तीछाप’मा महिला प्रमुख पात्रको कास्टिङमा ढिलाइ भएको छ।

‘दुई नम्बरी’मा ६ लाख रुपैयाँमा काम गरेकी उपासनाले पारिश्रमिक बढाएर १० लाख हाराहारीमा मागेपछि निर्माता नेपालीले साइन गर्न सकेका छैनन्। यद्यपि उपासनालाई नै नायिकाको रुपमा लिने उनले बताएका छन्।

‘उहाँले पहिलेको भन्दा केही बढाएर पारिश्रमिक दिनुस् भनेपछि कास्टिङको काममा केही ढिलाइ मात्र भएको हो रोकिएको होइन, यो बिषय मिलाएर चाँडै नायिका तय गर्छौं,’ निर्माता नेपालीले सञ्चारकर्मीहरुसँग भने । एक्सन–थ्रिलर चलचित्र हात्तीछापमा निर्माता नेपाली अघिल्लो प्रोजेक्ट दुई नम्बरीकै कलाकारलाई दोहोर्‍याउन चाहन्छन्।

जसअनुसार सौगात मल्ल र दयाहाङ राईले पारिश्रमिकको सट्टामा चलचित्रको नाफाको ४० प्रतिशत सेयर बाँडफाँटको शर्तमा चलचित्र खेल्ने फाइनल भएको नेपालीले जानकारी दिएका छन्।

नयाँ चलचित्रमा भुटानी नायिका उगेन छोदेनलाई भने लिने निर्णय नभएको निर्माता नेपालीले बताएका छन्। सिमोस सुनुवारले निर्देशन गर्ने र प्रदीप भारद्वाजको लेखन रहेको यो चलचित्रको छायांकन चैतदेखि शुरु गर्ने तयारी छ। फागुन मध्यसम्म सबै कलाकार फाइनल गर्ने निर्माण समुहको योजना छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved