काठमाडाैं ।कारागारमा रहेका कैदीबन्दीले दैनिक ८० रुपैयाँ भत्ता पाउने भएका छन् । कारागार नियमावली २०२० संशोधन भएपछि कैदीबन्दीले दैनिक ८० रुपैयाँ भत्ता पाउने भएका हुन् । यसअघि कैदीबन्दीले दैनिक ६० रुपैयाँ भत्ता पाउँदै आएका थिए । कारागार नियमावली– २०२० संशोधन गरेर सरकारले कैदीबन्दीले पाउने नगद भत्तासँगै लत्ताकपडाको सुविधा पनि वृद्धि  गरेको छ ।

७ महिनादेखि नाबालक उमेर समूहकालाई दैनिक ३५ रुपैयाँ दिइँदै आएकोमा त्यसलाई बढाएर ५० रुपैयाँ पुर्‍याइएको छ । कारागारमा रहेका महिला सुत्केरी भएमा एक पटकका लागि १ हजार रुपैयाँ सुत्केरी भत्ता दिइँदै आएकोमा त्यसलाई बढाएर २ हजार पुर्‍याइएको छ ।

मौसमअनुकुल हुने गरी कैदीबन्दीलाई चिसोमा ज्याकेट उपलव्ध गराइने भएको छ । वर्षमा दुई पटक लत्ता कपडा दिइदै आएको छ ।

हरेक २ वर्षमा ३/३ केजीका सिरक–डस्ना वा त्यसले धान्ने मूल्य बराबरका बिछ्यौना दिइँदै आएको कारागारले अब   ५/५ केजीका कपासबाट बनेका सिरक/डस्ना दिइने व्यवस्था गरिएको छ । तन्ना भने हरेक वर्ष उपलब्ध गराउनेछ ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार संशोधित नियमावलीअनुसार वृद्धि भएको कैदीबन्दीको सुविधा सोमबारबाटै लागू भएको बताए । उक्त प्रावधानसहित नियमावली सोमबार नै राजपत्रमा प्रकाशित भइसकेको छ ।