एजेन्सी/ शरिरलाई पूर्णतया तन्दुरुस्त र स्वस्थ राख्नको लागि शारीरिक र मानसिक दुवै स्वास्थ्यमा ध्यान दिन आवश्यक छ। स्वास्थ्य विज्ञहरू भन्छन्, प्रायः हामी सबैले शारीरिक स्वास्थ्यका लागि उपायहरू गर्छौँ तर मानसिक स्वास्थ्यलाई जानेर वा नजानेर बेवास्ता गरिन्छ तर, स्वस्थ दिमागबिना स्वस्थ शरीरको कल्पना गर्न सकिँदैन। वास्तवमा यो त्यति गाह्रो छैन, केही साधारण कुराको ख्याल गरेर मात्रै पनि राम्रो स्वास्थ्य पाउन सकिन्छ।

स्वास्थ्य विज्ञहरू बताउँछन् कि जीवनशैली र खानपानमा गडबडीलाई वर्तमान समयका अधिकांश रोगहरूको मुख्य कारण मानिन्छ, जसमा केही सामान्य सुधारहरूले समग्र स्वास्थ्य प्राप्त गर्न मद्दत गर्न सक्छ । केही राम्रा बानीहरू शारीरिक र मानसिक दुवै स्वास्थ्य कायम राख्न मद्दत गर्न सक्छन्। 

प्रस्तुत छन् ती बानीहरू :

१. रक्सीबाट टाढा रहनुहोस् : शोधकर्ताहरूका अनुसार रक्सी पिउने बानीले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पार्न सक्छ । रक्सीले कलेजोलाई मात्र हानी गर्दैन, यसले मुटुको मांसपेशीमा समस्या र क्यान्सरको जोखिम पनि बढाउँछ। यसका साथै मदिरा सेवनका कारण चिन्ता, तनाव जस्ता विकारको जोखिम पनि बढ्छ। यस्तो अवस्थामा मदिराबाट दुरी कायम गरेर समग्र स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ।

२. स्वस्थ आहार : शरीरलाई स्वस्थ राख्न खानपानमा ध्यान दिनु निकै जरुरी हुन्छ। भिटामिन र मिनरल्सले भरपुर खानेकुराको सेवनले काम गर्ने शक्ति प्रदान गर्नुका साथै सङ्क्रामक रोगसँग लड्न बलियो प्रतिरोधात्मक क्षमता निर्माण गर्न पनि फाइदाजनक हुन्छ। यस बाहेक दिमागलाई शान्त राख्न र सोच्ने र सम्झने क्षमता बढाउन आहारको पोषण पनि धेरै महत्त्वपूर्ण हुन्छ।

३. नियमित योग–व्यायाम : दैनिक व्यायाम गर्ने बानीले शारीरिक र मानसिक दुवै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। नियमित योग–व्यायाम गर्नेमा मुटु रोग–मधुमेहको जटिलताको जोखिम कम हुन्छ, साथै दिमागलाई शान्त राख्न र तनावबाट बचाउन पनि फाइदाजनक हुन्छ। योगले गम्भीर रोगको जोखिमलाई कम गर्न सक्छ, साथै यसले डिप्रेसनको समस्याबाट पीडित व्यक्तिहरूलाई राहत दिन पनि सहयोगी हुन्छ।

४. पर्याप्त निन्द्रा : हरेक रात ६–८ घण्टा सुत्नु मानसिक र शारीरिक दुवै स्वास्थ्यको लागि आवश्यक छ । पर्याप्त निद्रा नपुग्दा मुटु र मेटाबोलिक रोग लाग्ने खतरा हुन्छ । यसबाहेक निद्रा पूरा नहुने मानिसमा मानसिक रोगको जोखिम पनि बढी देखिएको छ । राम्रो निन्द्राले तपाईलाई ऊर्जावान बनाउनुका साथै दिमाग शान्त र शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ ।