संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरेको छ ।
अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साविक चेपुवा, हटिया र पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरेको हो ।
अप्पर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार ५ सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । 

१०६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण कार्य अघि बढाएको छ ।आयोजनाले प्रभावित क्षेत्रका ३३५ घरपरिवारलाई मुआब्जा वितरण गर्न सुरु गरेको अप्पर अरुण आयोजनाका बरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिए । हालसम्म भोटखोला–२ हटियाका १५ घरपरिवारलाई करिब साढे ४ करोड रुपैयाँ मुआब्जा वितरण गरिसकिएको अरुण आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताए । अन्य १५ घरपरिवारका लागि ६ करोड रुपैयाँ बढी बैंक खातामा पठाइसकिएकोे आयोजनाले जनाएको छ ।

उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी १० लाख निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले मूल्य निर्धारण गरेको हो । त्यस्तै हटिया ८, ९ र चेपुवा १ को अलँैंची बालीसहितको जग्गा प्रतिरोपनी ९ लाख ५० हजार र चेपुवा १, हटिया ८ र ९, पावाखोला ३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी ७ लाख रुपैयाँ कायम गरिएको छ ।

आयोजना निर्माणको कार्य २ वर्षपछि सुरु हुने बताइएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं. २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो । हाइड्रोपावर निर्माण सुरु भएको ६ वर्षभित्रमा काम सम्पन्न गर्ने योजना छ ।आयोजनाको ३० प्रतिशत पुँजी र ७० प्रतिशत स्वदेशी तथा विदेशी बैंक तथा वित्तीय संस्थासँग कर्जा जुटाइनेछ । आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरणले करिब ६८ प्रतिशत लगानी गर्नेछ । जलविद्युत् आयोजनाको अनुमानित लागत २ खर्बभन्दा बढि छ ।