पाचँथर । तेलको मूल्य वृद्धिसँगै पहाडी क्षेत्रका किसानहरुले तोरी खेती लगाउन थालेका छन् । तोरी खेती छोड्दै गएका किसानहरुले यस पटक तोरी लगाएपछि पहाडी भूभागमा तोरी फूल्दा मनोरम देखिएका छन् । ‘धर्ती राम्रो तोरीको फूलले’ भन्ने नेपाली लोक आहान नै छ । यही उखान चरितार्थ हुने गरी अहिले पूर्वी पहाडी फाँट तोरी खेतीले हराभरा भएका छन् । शरदकालीन बालीको रूपमा खेती गरिने तोरी कतै फूल्दै, फल्दै त कतै पाक्दै गरेको अवस्था छ ।

 तोरी खेतीले कृषि पर्यटन प्रवद्र्धन हुने गरि धर्ती राम्रो बनाइदिने मात्र होइन, यसले धेरै स्वस्थवद्र्धक खाने तेलको आपूर्ति गर्न सघाउँछ । नेपालमा मुख्य तेलहन बालीको रूपमा पहाड तथा तराईमा तोरीको खेती गरिन्छ । जस्तै माटोमा पनि सुख्खा मौसमका साथै कम तापक्रम र सिँचाइमा तोरी खेती हुने प्राविधिक बताउँछन् । यसको सम्भाव्यता पूर्वी पहाडमा अधिकतम रहे पनि यसतर्फ किसानको लगाव भने कमैमात्रै पाइन्छ ।

आफ्नो परिवारको लागि आवश्यक तेलको खाँचो टार्न पुग्ने गरीको थोरै मात्रै किसानले थोरै नै तोरी रोप्ने गरेका छन् । यस क्षेत्रमा हिउँदमा धेरै बाँझो रहने खेतबारीमा तोरी फलाउन सरकारबाट प्रोत्साहन गर्नुपर्ने किसानहरु बताउँछान् । सरकारले प्रोत्साहन गरेमा खेती गर्ने क्षेत्र विस्तार हुने उनीहरुको बुझाइ छ ।

पछिल्लो समय अचाक्ली मूल्यवृद्धिको मार खेप्न थालेका कतिपय किसान खाने तेलमा आत्मनिर्भर हुन तोरी खेती गर्न थालेका हुन् । तोरी खेती गरे स्वच्छ तेलसँगै साग तथा गुन्द्रुक उत्पादनसमेत हुने भएको किसानहरुले तोरी खेती गर्न थालेका हुन् ।

मौरी पालन प्रबद्र्धनमा पनि टेवा पुग्छ । चोटपटक, घाउ–खटिरोका साथै विभिन्न रोगको घरेलु औषधिको रूपमा तोरीको तेल उपयोग गर्ने चलन पनि छ । नेपालबाट खाने तेलको कच्चा पदार्थ आपूर्तिमा ठूलो धनराशि बिदेसिने बताइन्छ । यो रोक्न तोरी खेती प्रवद्र्धनमा सरकारले किसानलाई प्रोत्साहन गरे देशको अर्थतन्त्र मजबुत पार्नमा सहयोग पुग्ने देखिन्छ ।