विराटनगर । ‘न्युट्रास्युटीकल’ (खाद्यपूरक) सामग्रीलाई औषधि भन्दै फार्मेशीहरूले बिक्री वितरण गर्ने गरेको पाइएको छ ।खाद्यपुरक सामग्रीलाई औषधि भन्दै बिक्री वितरण गरेको पाइएपछि औषधि व्यवस्था विभाग विराटनगरले न्युट्रास्युटीकल बरामद गरी नष्ट गर्ने अभियान सुरू गरेको हो ।

तीन वर्ष अगाडि औषधि व्यवस्था विभागले खाद्यपूरक सामग्री चिकित्सकले सिफारिस गरिदिने र औषधि भन्दै फार्मेशीहरूबाट बिक्री वितरण गर्न थालेपछि रोक लगाएको थियो । विभागले खाद्य पुरक सामग्री फार्मेशीमा बिक्री वितरण गरेको पाइए नियन्त्रणमा लिन थालेपछि त्यसमा कमी आएको थियो । केही समय यता फेरि विराटनगर, सुनसरी र झापाका ठूला हस्पिटलभित्र र अरु फार्मेशीहरूबाट औषधि भन्दै खुलेआम खाद्यपुरक सामग्री बिरामीलाई बिक्री वितरण गर्न थालेपछि विभागले बरामद गरी नष्ट गर्ने अभियान सुरू गरेको हो ।

अभियान सुरू गरेको सात महिनामा २९ वटा फार्मेशीले औषधि भन्दै बिक्री गर्न राखेको ठूलो परिमाणमा खाद्यपुरक सामग्री नियन्त्रणमा लिएको औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख टेकेन्द्र मिश्रले जानकारी दिए । विभागले नियन्त्रणमा लिएको खाद्यपूरक सामग्री विराटनगरको ठूला हस्पिटलभित्रबाट बरामद गरेको छ । नोबेल मेडिकल कलेजभित्रको सुस्वास्थ्य फार्मेशी, मेडिकेम फर्मा, विराटनगरको हस्पिटल चौकमा रहेको उज्जवल फर्मा, फेसबुक फार्मेशी, शिवराम फार्मेशी, श्री गणेश ड्रग हाउस, विराट नर्सिङहोमभित्रको विराटनगर अस्पताल फार्मेशी, युनिक फार्मेसीबाट विभागले ठूलो परिमाणमा बिक्रीको लागि राखिएको खाद्यपू्रक सामग्री नियन्त्रणमा लिएको थियो । यस्तै विराटनगरको सप्तकोशी फार्मेशी, सीताराम फार्मेशी, झापाको दमकको मन्जिता फार्मेशी, सायरा फार्मेशी, तोयानाथ फार्मेशी, जुनतारा फार्मेशी, अतुल्यन मेडिकल, आयुव फार्मेशी, मनमोहन अस्पताल फार्मेशीबाट खाद्यपुरक सामग्री नियन्त्रणमा लिएको विभागले जनाएको छ ।

खाद्यपुरक सामग्री खाद्यवस्तु हो । यो औषधि पसलबाट नभई खाद्य सामग्री पसल वा डिपार्टमेन्ट स्टोरमा राखेर बिक्री वितरण गर्ने गरिनछ । तर, यहाँ भारतमा किलोको हिसाबले जोखेर पाइने खाद्यपुरक सामग्री ल्याएर अतिरिक्त मूल्यमा बिक्री गर्ने र बिरामीहरु ठगीमा पर्ने समस्या देखिएको छ । नेपालमा ल्याएपछि उक्त सामग्री ३०० देखि ५०० रुपैयाँसम्म लिएर बिक्री गर्ने गरेको पाइएको छ ।यसरी डिपार्टमेन्ट स्टोरामा राखेर विक्री वितरण गर्ने खाद्यपुरक सामग्रीलाई औषधी भन्दै बिक्री वितरण हुने गरेको पाइएपछि फार्मेशीहरू अनुगमन गर्दै बरामद गर्ने र नष्ट गर्ने अभियान सुरू गरिएको उनले बताए । कमिसनको चक्करमा चिकित्सकले पनि ‘न्युट्रास्युटीकल’ सिफारिस गरिदिने गरका छन् ।

खाद्यपुरक वा आहारपुरक सामग्रीहरुको जथाभावी प्रयोगले बिरामी, बिरामीको परिवार तथा समाजलाई पुर्याउने आर्थिक नोक्सान हो । आर्थिक प्रलोभनमा परी चिकित्सकहरुले अत्यन्त महंगा खाद्यपुरक वा आहारपुरक सामग्रीहरुको शिफारिस गर्ने गरेकाले सर्वसाधारण मानिसहरुले त्यसको ठूलो आर्थिक बोझ चुकाउनु परिरहेको उपभोक्ताहरुको गुनासो छ । कतिपय बिरामीलाई चिकित्सकहरुले ६ महिनादेखि १ बर्षसम्मका लागि त्यस्ता सामग्रीहरुको सिफारिस गर्ने गरेका छन् । चिकित्सकहरुले त्यस्ता वस्तु सिफारिस गर्दा फलानो पसलमा गएर किन्नु भनेर तोकेरै भन्ने र किनिसकेपछि आएर मलाई देखाउनुसमेत भन्ने गरेका छन् । यसबाट खाद्यपुरक वा आहारपुरक सामग्रीहरुको गलत प्रयोग कुन हदसम्म हुने गरेको छ भन्न कुरा पुष्टि हुने गरेको छ ।

खाद्य तथा गुण नियन्त्रण बिभागबाट अनुमती लिएर आयात गरिएका खाद्यपुरक वा आहारपुरक सामग्रीहरुको औषधि पसलहरुबाट बिक्रि वितरण गरेको पाइएकाले त्यस्ता सामग्रीहरुको जफत गर्ने गरिएको छ । ‘औषधि ऐन बमोजिम संचालन हुने भएकाले औषधि पसलबाट त्यस्ता सामग्रीहरुको बिक्री वितरण गर्नु गैर कानुनी कार्य हो,’ औषधि व्यवस्था विभाग विराटनगरका प्रमुख मिश्राले भने, ‘अब अझै व्यवस्थित तरिकाले बिभाग यस किसिमका सामग्री औषधि पसलबाट हुने बिक्रीलाई नियन्त्रण गर्न तत्परताका साथ लाग्नेछ । खाद्यपुरक सामग्रीहरुको प्रयोग बिरामीको उपचारका लागी गर्नु हुँदैन । सो कुरा स्वयं त्यस्ता सामग्रीहरुका खोलमा ‘नट फर मेडिसिन युज भनेर लेखिएको हुन्छ । तर ठूला अस्पतालहरुबाट त्यस्ता सामग्रीहरुको सिफारिस हुने र अस्पताल अगाडि सञ्चालन हुने फार्मेसीबाट बिरामीहरुलाई बिभिन्न किसिमका खाद्यपुरक वा आहारपुरक सामग्रीको निर्वाध वितरण हुने गरेको छ ।’