इटहरी । विवाहित महिलाहरूलाई लक्षित गरी आयोजना गरिएको चौथो संस्करणको मिमेस कोशी प्रतियोगिताको पहिलो अडिसन विराटनगरमा भएको छ । शनिबार भएको पहिलो अडिसनमा १५ जना महिलाहरु सहभागी भएका छन् ।

पहिलो अडिसनको निर्णायकहरूमा जय मिडिया म्यानिजमेन्ट प्रालिका अध्यक्ष जयराज राय, गायक तथा मोडल रोशन राजवंशी र मिस कोशीको फस्ट रनरअप आयूषा आचार्य रहेकी थिइन् । आउँदो शनिबार विराटनगरमै दोस्रो अडिसन हुनेछ आयोजकले जनाएको छ ।

यो प्रतियोगितामा विवाहित महिला, एकल र सम्बन्ध विच्छेद गरेका महिलाहरूले भाग लिन पाउनेछन् । जय मिडिया म्यानिजमेन्ट प्रालिको आयोजना हुँदै आएको प्रतियोगितामा भाग लिनको लागि आवेदन पनि खुला गरेको छ । प्रतियोगितामा सहभागी हुनका लागि प्रत्यक्ष उपस्थित भएर वा अनलाइनमार्फत पनि आवेदन दिन सकिने जय मिडिया म्यानिजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले जानकारी दिए ।

विभिन्न चरणको अडिसनबाट छनौट भएका प्रतियोगिहरूलाई फाइनलमा छनौट गरिनेछ । फाइनलमा छनौट भएकाहरूलाई आयोजकले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका प्रशिक्षकहरूबाट प्रशिक्षण दिने गरेको छ ।