विराटनगर । पूर्वी नेपालको सबैभन्दा ठूलो सरकारी अस्पताल कोशीमा बन्न लागेको पाँच सय शैय्याको आठ तले मेडिकल भवनको शिलान्यास भएको छ ।२ करोड १७ लाख ६६ लाख २० हजार २ सय ८३ रूपमा लागतमा निर्माण हुन लागेको आठ तला भवनको शिलान्यास बिहीबार गरिएको हो । उक्त भवनको शिलान्यास सहरी विकास मन्त्री मेटमणी चौधरी र स्वास्थ्य तथा जनजसंख्या मन्त्री भवानीप्रसाद खापुङ्गले संयुक्त रूपमा गरे ।

शहरी विकास तथा भवन निर्माण विभागले मुल्य अभिवृद्धि कर बाहेक २ अर्ब १७ करोड ६९ लाख ९२ हजार २ रुपैयाँ १३ पैसाँमा कुल लागत अनुमागन गरेकोमा ठेकेदार कम्पनी केसी कन्ट्रक्सन काठमाण्डौंले ३ लाख ७१ हजार ७१९ रूपैयाँ कम लागतमा २ अर्ब १७ करोड ६६ लाख २० हजार २८३ रुपैयाँमा ठेक्का लिएको हो ।

तीन वर्षमा काम सम्पन्न गर्ने गरी ठेकेदार कम्पनीले काम सुरू गर्ने संघीय आयोजना कार्यान्वयन इकाइ विराटनगर मोरङका प्रमुख गणेशबहादुर महर्जनले जानकारी दिए । समयमै गुणस्तरीय काम सक्ने गरी संकल्पको साथ काम गरिनुपर्नेमा उनले जोड दिए ।

कोशी अस्पतालको शिलान्यास भएको मेडिकल भवनको निर्माण पूरा भएर संचालनमा आएपछि कोशीको एक हजार शैय्याको हुनेछ । अहिले कोशीमा साढे ३ सय शैय्या संचालन रहेको छ । यसअघि एक वर्ष अगाडि शिलान्यास भएर निर्माण सुरू भएको पाँच तले भवन निर्माणको काम रोकिएको छ । ठेकेदार कम्पनी रमन भूमि, बि.आई. पि.एल. जेभी सम्र्पकबिहीन भएपछि चार महिनादेखि काम रोकिएको हो । पाँच तलाको भवन ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो ।
उक्त जेभीले ठेक्का पाएपछि वि.सं. २०७८ असार २३ गते संघीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो ।

आठ तलाको बन्न लागेको कोशी अस्पताल भित्रको मेडिकल भवन पाँच सय शैय्याको हो । दुई तलाको अन्डरग्राउण्ड पार्किङ्ग रहनेछ । पहिलो अन्डरग्राउन्ड पार्किङमा ३४ वटा कार, ७७ वटा मोटरसाइकल र मेडिकल स्टोर रहनेछन् । त्यस्तै पहिलो अन्डरग्राउण्ड पार्किङ्गमा २५ कार ८५ वटा बाइकल र मेडिकल कोठा हुनेछ ।

यस्तै ग्राउण्ड फ्लोरमा रजिष्टे«शन, रोडियोलोजी, ब्लड बैंक, ल्याब, फार्मेसी र जनरल स्टोर रहनेछ । पहिलो तलामा पीसिआई, एनआइसियू वार्ड र बच्चाको वार्ड रहनेछ । यो वार्ड ९१ शैय्याको रहनेछ ।

यस्तै दोस्रो तलामा ९१ शैय्याको अर्थोपेडिक वार्ड रहनेछ । तेस्रो तलामा ९१ शैय्याको मेडिकल वार्ड रहनेछ । यस्तै चौथो तलामा १ सय ३ शैय्याको ट्रमा सर्जिकल वार्ड रहनेछ । जसमा आँखा, नाक, कान, घाँटी, बन, डेन्टल र जनरल सर्जरी वार्ड रहनेछ ।

यसैगरी पाँचौ तलामा १ सय शैय्याको ट्रमा सर्जिकल वार्ड रहेको छ । जसमा एनआइसियू, सिटिभिएस, न्यूरो सर्जरीलगायतका वार्ड रहनेछन् । यस्तै छैठौं तलामा ३० शैय्याको शल्यक्रिया वार्ड रहनेछ । यहाँ ९ वटा मेजर शल्यक्रिया हुनेछ भने अन्य सामान्य शल्यक्रिया पनि यही वार्डमा हुनेछ । यो वार्डमा सिएसएसडी, पोस्टअप वार्ड पनि रहनेछ । यसैगरी सातौं र आठौं तलामा सेमिनार र मिटिङ्ग हल रहनेछ । आठ तलाको भवनमा ६ वटा लिफ्ट रहनेछन् । डाक्टर र विरामीका लागि छुट्टाछुट्टै लिफ्ट रहनेछन् ।