सार्वजनिक जग्गा संरक्षणमा जुट्यो केराबारी गाउँपालिका क्लिनिकहरुलाई दर्ता प्रकृयामा ल्याईने

  • न्युजडेस्क
  • प्रकाशित मिति: मंसिर ५, २०७९

केराबारी/ मोरङ्गको केराबारी गाउँपालिकाले सार्वजनिक जग्गा पहिचान तथा अभिलेख तयार गरी सर्भे तथा सिमांकनका लागि गाउँकार्यपालिकालाई सिफारिस गर्ने निर्णय गरेको छ। गाउँपालिका अध्यक्ष सुमन मिरिङचिङको अध्यक्षतामा कात्तिक २९ गते बसेको कार्यपालिका बैठकले यस्तो निर्णय गरेको हो।

सार्वजनिक जग्गा पहिचान गरी संरक्षण गर्ने एवं संरक्षित सार्वजनिक जग्गाको ब्यवसायीक प्रयोजनमार्फत गाउँपालिकाको आन्तरीक आयलाई दिगो र भरपर्दो बनाउन यस्तो निर्णय गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुदर्शन दाहालले जानकारी दिनुभयो।

उहाँले सार्वजनिक जग्गा संरक्षण तथा उपयोग सम्बन्धी कार्यविधि २०७९ को नियम ३ को उपनियम ३ बमोजिम बनेको वडा स्तरिय समितिले सार्वजनिक जग्गा पहिचान तथा अभिलेख तयार गरी सर्भे तथा सिमांकनका लागि गाउँकार्यपालिकालाई सिफारिस गर्ने निर्णय गरिएको बताउनुभयो।

बैठकले केराबारी गाउँपालिका क्षेत्रभित्र एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरिद प्रकृया अगाडी बढाउन गाउँकार्यपालिकाको कार्यालयलाई निर्देशन दिने तथा गाउँपालिका क्षेत्र भित्र एम्बुलेन्स सञ्चालन सम्बन्धि मापदण्डको मस्यौदा तयार गरी पेश गर्न बिधयेक समितिलाई निर्देशन दिने निर्णय गरेको छ।

त्यस्तै गाउँपालिकाले श्रोतमा नै फोहोरमैलाको वर्गीकरण गर्ने उदेश्यले प्रत्येक महिनाको अन्तिम शुक्रवार केराबारी गाउँकार्यपालिका र अन्तर्गतका कार्यालय, बिद्यालयहरुमा र प्रत्येक महिनाको अन्तिम शनिवार वडा कार्यालयको समन्वयमा टोल विकास संस्थाको सहभागितामा सरसफाई अभियान नियमित सञ्चालन गर्ने भएको छ।

यस्तै गाउँपालिका र इक्छुक समूह वा ब्यक्तिको साझेदारीमा बार्षिक कम्तिमा दुईसय जनालाई प्रत्यक्ष रोजगारी दिने गरि मेसिन र कच्चा पदार्थमा अनुदान दिएर सेनेटरी प्याड, चप्पल, टपरी, ढाका जस्ता काममा रोजगारी दिन मिल्ने पाँच दशवटा फ्याक्ट्री खोल्ने गरी स्थानीय संस्थान सञ्चालन सम्बन्धि स्थानीय कानून तर्जुमाको लागि विधेयक समितिमा पठाउने निर्णय समेत गरेको छ।

यस्तै केराबारी गाउँ कार्यपालिका अन्तर्गतका सम्पुर्ण बिद्यालय, अस्पताल, स्वास्थ्य संस्थाहरुको नियमित रुपमा गाउँपालिकाद्वारा आन्तरिक लेखा परिक्षण गर्ने निर्णय गरेको छ।

यसैगरी केराबारी गाउँपालिका क्षेत्रभित्रका निजि स्वास्थ्य संस्था, क्लिनिक तथा प्रयोगशालाहरुलाई गाउँकार्यपालिकामा दर्ता प्रकृयामा ल्याई नियमित अनुगमन तथा नियमन गर्ने भएको छ।

यस्तै गाउँपालिका क्षेत्रभित्र रहेका व्यवसायिक पशु–पालक कृषकहरुलाई पशु विमा कार्यक्रममा सहभागि गराउन विभिन्न टोल विकास संस्थाहरुमार्फत सूचना प्रवाह गर्ने भएको छ।

केराबारी गाउँपालिका क्षेत्रभित्र रहेका अति विपन्न परिवाहरुलाई प्रतिवडा १० परिवारका दरले निःशुल्क स्वास्थ्य विमा कार्यक्रममा सहभागि गराउने उदेश्यले मापदण्ड तयार गर्न विधेयक समितिलाई निर्देशन दिने भएको छ।

त्यसैगरी केराबारी गाउँपालिका क्षेत्र भित्रका बिभिन्न स्थानहरुमा खानेपानी आयोजना तथा सडक ट्राक ओपन कार्यको लागि सम्भाव्यता अध्ययन गर्ने भएको छ।

 

 news

 


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved