रवीन्द्र मिश्र बने राप्रपाका वरिष्ठ उपाध्यक्ष

  • न्युजडेस्क
  • प्रकाशित मिति: आश्विन १२, २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच एकीकरण भएको छ। बुधबार राष्ट्रिय सभा गृहमा एक कार्यक्रमबीच राप्रपा र मिश्र समूहबीच एकता घोषणा भएको हो । 

अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ उपाध्यक्ष पदसहित मिश्र राप्रपामा प्रवेश गरेका हुन्। यसअघि सोमबार मिश्रले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका थिए। मिश्र काठमाडौं-१ बाट चुनावी प्रतिस्पर्धाको तयारीमा रहेका छन्।

राप्रपासँग एकताका लागि पार्टीभित्र लामो समयदेखि बहस चलाइरहेका मिश्रले सहअध्यक्षको दाबी गर्दै आएका थिए। राप्रपामा हाल ६ उपाध्यक्ष छन्। राप्रपाका ८ जनासम्म उपाध्यक्ष हुनसक्ने व्यवस्थामा विधान छ।

२०७४ सालको चुनावमा मिश्र काठमाडौं-१ बाट विवेकशील साझा पार्टीका उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका थिए। त्यतिबेला उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग ८१८ मतले पराजित भएका थिए। सिंहले १० हजार ९ सय ३६ मत पाउँदा मिश्रले १० हजार १ सय १८ मत पाएका थिए। त्यस्तै वाम गठबन्धनका तर्फबाट उम्मेदवार भएका अनिल शर्माले ५ हजार ३ सय ३६ मत पाएका थिए।

यसपटक काठमाडौं-१ बाट विवेकशील साझाका पूर्वनेता पुकार बमले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। मिश्रले जेठ ११ गते विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका थिए। स्थानीय तहको निर्वाचन पार्टीले अपेक्षित परिणाम हासिल नगरेको भन्दै उनले राजीनामा दिएका थिए। संघीयता र धर्मनिरपेक्षतामाथि जनमतसंग्रहको माग गर्दै आएका मिश्र पछिल्लो समय राजतन्त्र पुन:स्थापनाको पक्षमा खुलेका छन्।

मिश्रले प्रकाशोन्मुख पुस्तक 'विचार भन्दा माथि देश' मा नेपालको भूराजनीतिक संवेदनशीलताको कारण राजतन्त्र पुन:स्थापना हुनुपर्ने बताएका छन्। मिश्रले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता नेपालको दूरगामी हितका लागि घातक भएको निष्कर्ष निकालेका छन्।

यसपटक चुनावमा मिश्रले नेकपा एमालेको समर्थन जुटाउन खोजेका छन्। भदौको पहिलो साता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका थिए। अध्यक्ष ओलिसँगको भेटपछि मिश्रले एमालेले चुनावमा समर्थन गर्ने विश्वास लिएको प्रतिक्रिया दिएका थिए।

-कान्तिपुर


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved