मोरङ/ विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले विहिबार मोरङको बेलबारी, सुन्दरहरैंचा नगरपालिका र कानेपोखरी गाउँपालिकाका तीन स्थानमा गरेको निःशुल्क स्वास्थ्य शिविरमा ७ सयभन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माले बिपन्न विरामीलाई लक्षित गर्दै बेलवारी नगरपालिका वडा नम्बर ३, कानेपोखरी गाउँपालिका वडा नम्बर ५ र सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १२ मा शिविर सञ्चालन गराएका हुन् ।

तीन वटा शिविरबाट ७२६ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए। दाहालका अनुसार सुन्दरहरैंचा–१२ मा सञ्चालित शिविरमा ५७ जनाको इसीजी, ९७ जनाको रक्त परीक्षण, १०५ जनाको भिडियो एक्सरे र ११ जनाको दाँत उखेलिएको छ। नोबेलका छाती तथा फोक्सो रोग विशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीसहितको टोलीले शिविरमा ३४२ बिरामीको स्वास्थ्य परीक्षण गरेको छ।

त्यस्तै, बेलबारी–३ मा पनि शिविर सञ्चालन गरिएको छ। नोबेलका मुटुरोग विशेषज्ञ डा.सुसान्त कटुवाल नेतृत्वको डाक्टरहरुको टोलीले १०९ जना बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा आएका ८७ जनाको मुटुको जाँच ईको गरिएको छ। Nobel-Health-Camp2

यता, कानेपोखरी वडा नम्बर ५ मा सञ्चालित शिविरमा २७५ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको छ। जसमध्ये ४२ जनाको इसीजी, ११३ जनाको रक्त परीक्षण र १०७ जनाको भिडियो एक्सरे गरिएको छ भने दाँतमा समस्या भएर आएका १७ जनाको दाँत फुकालिएको छ। शिविरमा नोबेलका स्त्री रोग विशेषज्ञ डा.तृप्ती यादव नेतृत्वको टोलीले विरामीको स्वास्थ्य परीक्षण गरेको हो।

तीनवटै शिविरबाट थप उपचारका लागि ७९ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ। रेफर भएका विरामीहरुलाई डा.शर्माले नोबेलकै गाडीमा अस्पताल ल्याउँने र उपचार पश्चात घर पुर्र्याउँने व्यवस्था मिलाइदिएका छन्। Nobel-Health-Camp