इटहरी/ ग्ल्यामरस नायिका अदिती बुढाथोकी अभिनित चलचित्र ‘बाबरी’ असोज १४ गते रिलिज हुने भएको छ। बिहिबार इटहरीमा पत्रकार भेटघाट कार्यक्रम गरेर चलचित्रबारे जानकारी दिईएको हो।

चलचित्रमा पुरानी नायिका तृप्ति नाडकरका छोरा धिरज नाडकरका साथै नायक धिरज मगर अनि कलाकार कमलमणी नेपाललगायतको अभिनय देख्न सकिन्छ। बावरी भनेको मायाको रंग अर्थात कलर अफ लभ रहेको नायिका बुढाथोकीले कुराकानीका क्रममा पूर्वीखबरसँग बताएकी छन्।

चलचित्रमा समावेश भएको गित बावरी रंगमा रंगिएर...सुपरहिट भईसकेको छ। चलचित्रमा त्रिकोणात्मक प्रेमकथा रहेको र नायिका अदितीलाई नायक द्वय धिरज मगर, धिरज नाडकरले आफ्नो बनाउन हरसम्भव प्रयास गरेको भन्ने चलचित्रको प्रमोसन सामाग्रीहरुबाट बुझ्न सकिन्छ ।

चलचित्रमा समावेश बावरी रंगमा रंगिएर बोलको गितमा अनमोल गुरुङको शब्द संगीत रहेको र गीतलाई अनमोल आँफै र गायिका अस्मिता अधिकारीले गाएका छन्।

बाबरीमा माथि उल्लेखित कलाकारका अतिरिक्त बादल भट्ट, उर्मिला बस्नेत, ध्रुव कोइराला, सुनिता श्रेष्ठ, नितेश गुरुङ, त्रिशला तामाङ, दीलिप गुरुङलगायतका कलाकारको पनि अभिनय छ।

चलचित्र बावरीलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् भने पटकथा तथा संवाद रितसिंह बोहोरा, सिजन दाहाल, मनोज त्रिपाठी र किशोर नेपालले लेखेका हुन्। चलचित्रलाई काठमाण्डौ, झापा, मोरङ र सिक्किमका बिभिन्न रमणीय स्थानमा नरेन्द्र मैनालीले छायांकन गरेका छन्।

बाबरी फिल्मको प्रस्तुती र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको निर्माता गणेश बुढाथोकी, पुष्पा बुढाथोकी हुन्। सुष्मा गुरुङ सह निर्माता रहेको बावरीको कथा निर्देशक पौडेलले नै लेखका हुन्। चलचित्रमा काली प्रसाद बास्कोटा, सुजन चापागाई र अनमोल गुरुङको संगीत छ।