इटहरी/ गत भाद्र २९गते धरान उपमहानगरपालिका २० टोड्केकी पूर्णसरी राईको शव स्थानीयले घरभित्रै फेला पारे । राईको शव स्थानीयले दिउसो २ बजेतिर स्थानीयले देखेपछि प्रहरीलाई खवर गरेका थिए।

स्थानीय पूर्ण बहादुर राईको श्रीमती ६४ बर्षीया राईको आफ्नै घरमा रहेको बेला पछाडीबाट गर्धनमा धारिलो हतियार प्रहार गरिएको प्रष्ट देखिन्थ्यो। राईको हत्यापछि उनले लगाएको सुनको सिक्री र कानमा लगाएका सुनको कुन्डल लुटिएको पाईएको थियो। स्थानीयको जानकारी पछि घटनास्थलमा इलाका प्रहरी कार्यालय धरानबाट प्रहरी निरीक्षक नेतृत्वको टोलि खटिएर घटनास्थल सुरक्षित राखेको थियो।

घटनाको थप अनुसन्धानको लागि SOCO टोलि, फरेन्सिक डाक्टर र तालिम प्राप्त कुकुरसहितको बिज्ञ अनुसन्धान टोलि लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाल आँफै घटनास्थलमा पुग्नुभएको थियो। घटनाको गहन ढंगले अनुसन्धान शुरु गरेर शवलाई पोष्टमार्टमका लागि धरान स्थित बि.पि.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पठाईएको थियो । DSC_0709

घटनामा संलग्न व्यक्तिको पहिचान गरेर पक्राउ गर्न प्रदेश नम्बर १ प्रहरी कार्यालय बिराटनगर RIT शाखाको टोलि, संघीय प्रहरी कार्यालय धरानको बिशेष टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको बिशेष टोली संयुक्त रुपमा खटिएको थियो।

प्रहरीले अनुसन्धानको क्रममा घटनामा संलग्न धनकुटाको साँगुरीगडी गाउँपालिका ८का १८बर्षीय निखिल भन्ने नकल राईलाई असोज २ गते बेलुका ४बजेतिर बिराटनगर १५रानि एरियाको नेपाल भारत सिमानामा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीमा मंगलबार पत्रकार सम्मेलन गरेर जनाएको छ।

अनुसन्धानको क्रममा हत्यामा संलग्नले गत भदौ २८ गते दिउसो ३ बजेतिर हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ। अनुसन्धानको क्रममा राईले हत्यापछि शवलाई घरभित्र लगेर ढोका बन्द गरेर गरगहना लुटि हत्यामा प्रयोग भएको खुकुरी स्थानीय पकुवा जंगलमा लुकाएर बराहक्षेत्र ४बाट स्थानीय एकजनाको साईकल चोरेर साईकलमा भारतको चैनपुरतर्फ भागेर त्यहि तीनदिन वसेर जोगवनि नाकामा आएर लुकिछिपि बसेको पाईएको प्रहरीले जनाएको छ।

राईले हत्यामा प्रयोग गरेको खुकुरी पकुवा खोला किनारको जङ्गलमा लुकाई राखेको अबस्थामा बरामद गरिएको र मृतकले लगाएको गरगहना (सुनको सिक्री ७.२७० ग्राम) र चोरी गरेको साईकल सुनसरीको भोक्राहानरसिंह गाउँपालिका ६ बक्ला टोलका २०बर्षीय रञ्जित कुमार साहको घरमा लुकाई राखिएको अबस्थामा फेला पारेर बरामद गरिएको प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकाले पत्रकार सम्मेलनमा बताउनुभयो।

गरगहना लुकाउने रञ्जित कुमार साहलाई पनि प्रहरीले असोज ३ गते भोक्राहानरसिंह ६ बाट पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो। प्रहरी अनुसन्धानको क्रममा नकुल राई धरानमा सानैदेखि बाबुआमाले हेरचाह नगरेकाले आफन्तकोमा बस्दै आएको र सानैदेखि लागुऔषध सेवन गर्ने र गाउँघरमा सानो तिनो चोरी गर्ने गरेको र मृतकको घरमा १ हप्ता अगाडि नै गएर मृतकको बारे सबै बुझेर योजना बनाई गरगहना लुट्ने उद्देश्यले हत्या गरेको खुलेको पत्रकार सम्मेलनमा जनाईएको छ।

हत्यामा संलग्न राई र लुटिएको गरगहना लुकाउन सहयोग गर्ने साहलाई कर्तव्य ज्यान मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।