इटहरी/ नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मित्र क्षेत्रीलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ। प्रेस चौतारी नेपाल दुहबीका नगर संयोजक समेत रहेका क्षेत्रीलाई बीमा बापतको रकम हस्तान्तरण गरिएको हो।

शुक्रबार (आज) दुर्घटना पीडित क्षेत्रीको निवासमा नै पुगेर प्रेस युनियन सुनसरीका सभापति पवन अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी नेपाल प्रदेश १ का उपाध्यक्ष सुमन पुरी, प्रेस चौतारी नेपाल सुनसरीकी अध्यक्ष शुभद्रा प्याकुरेल, महासंघ एवं युनियन सुनसरीका कार्यसमितिको उपस्थितिमा बीमा बापतको रकम हस्तान्तरण गरिएको हो।

अजोड इन्स्योरेन्समा सुनसरी जिल्लामा कृयाशिल २सय ७५जना सञ्चारकर्मीको दुर्घटना बीमा गरिएको प्रेस युनियन सुनसरीका सभापति अधिकारीले बताएका छन्। बिमित सञ्चारकर्मी क्षेत्री गत साउन दोस्रो साता दुर्घटनामा परेका थिए।

यसअघि साउन दोस्रो साता नै दुर्घटनामा परेका पत्रकार मनोज दाहाललाई पनि भदौ ११गते नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको उपस्थितिमा एक लाख रुपैयाँ हस्तान्तरण गरिएको सभापति अधिकारीको भनाई छ।

‘आँफुहरुले गत ११गते मात्रै दुर्घटनामा परेका अर्का सञ्चारकर्मीलाई एक लाख रुपैयाँ हस्तान्तरण गरेका थियौँ,’ अधिकारीले भने, ‘प्रेस युनियनले सबै संगठनमा आस्था राख्ने पत्रकारहरुलाई समस्यामा सहयोग गर्दै आएको छ।’ उनले जुनसुकै संगठनमा रहेपनि पत्रकार एउटै भएकाले उनीहरुको समस्यामा आफूहरूले मल्हमपट्टी लगाउने काम गरिरहेको बताएका छन्। उनले ‘संगठनको नेतृत्व गर्नु भनेको अतिथि आसन ग्रहण गर्न मात्रै होइन, पत्रकारको समस्यामा काम गर्नका लागि हामी जुनसुकै बेला तत्पर छौँ।’ भनेका छन्।

एक लाख रुपैयाँको चेक बुझ्दै सञ्चारकर्मी क्षेत्रीले आफू दुर्घटनामा पर्दा युनियन सुनसरीले ठूलो सहयोग गरेको स्मरण गरेका छन्। ‘दुर्घटनामा परेको समयदेखि नै प्रेस युनियनले ठूलो सहयोग गरेको छ,’ उनले भने, ‘हस्पिटलमा आवश्यक परेको समयमा होस् वा अन्य समयमा नै, यो मेरो लागि ठूलो सहयोग हो ।’

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले प्रेस युनियन सुनसरीले गरेको कार्य सराहनीय रहेको भन्दै प्रशंसा गरे। उनले भने, ‘समस्या परेको बेला संगठन चाहिन्छ भन्ने उदाहरण युनियन सुनसरीले देखाएको छ, यो सराहनीय छ।’ उनले पत्रकार महासंघबाट पनि दुर्घटनामा परेका सञ्चारकर्मीहरूका लागि थोरै भएपनि राहत उपलब्ध गराउँदै आएको समेत बताएका छन्।

कार्यक्रममा प्रेस युनियनकी केन्द्रीय सदस्य कमला चौधरी, प्रेस चौतारी प्रदेश १ का उपाध्यक्ष सुमन पुरी, पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष गणेश निरौला लगायतले बोलेका थिए।

‘हाम्रा समस्या दिनानुदिन बढ्दै गएको छ, साझा समस्या समाधानमा हामी सबै पत्रकार एकजुट हुनुपर्छ,’ प्रेस चौतारी प्रदेश १ का उपाध्यक्ष पुरीले भने, ‘हाम्रा मुद्वा सँगै छन्, समस्या सँगै छन्, त्यसैले हामी सबै मिलेर काम गर्नुपर्छ।’