इटहरी/ नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका सञ्चारकर्मी मनोज दाहाललाई एक लाख रुपैँया हस्तान्तरण गरेको छ। शनिबार सञ्चारकर्मी दाहालकै घरमा पुगेर युनियन सुनसरीले दुर्घटनावापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो।

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेलको प्रमुख आतिथ्यतामा युनियनको टोलिले दाहालको घरमै पुगेर १लाख रुपैँयाको चेक दिएको हो। चेक हस्तान्तरपछि महासंघका अध्यक्ष पोखरेलले मुलुकमा रहेका पत्रकारहरुलाई दुःखकै समयमा संगठन आवश्यक पर्ने बताउनुभयो।

पोखरेलले पत्रकारिता क्षेत्रमा संलग्न भइसकेपछि म सँग संस्था छ, म सँग समुदाय छ भन्ने अनुभूति पत्रकारले गर्न पायो भने त्यही नै सबैभन्दा ठूलो सम्पत्ति हुने बताउनुभयो। बीमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभएपनि संस्था साथै रहेको अनुभूति गर्नु महत्वपूर्ण रहेको पोख्रेलले बताउनुभयो। प्रेस युनियनको यस्तो कार्य सराहनीय रहेको भन्दै पोख्रेलले प्रशंसा समेत गर्नुभयो। pppp

पत्रकारले सबै समस्याको सम्बोधन गरिदिए हुन्थ्यो भन्ने चाहने राज्यले पत्रकारका समस्यामा राज्यको लगानी नभएको उहाँको तर्क छ। पत्रकारलाई समस्या पर्दा अभिभावक ग्रहण गर्नका लागि राज्य पनि नदेखिने भन्दै अध्यक्ष पोखरेलले पत्रकार आफैँले आर्थिकदेखि सामाजिक रुपमा परिपक्क बनाउनुपर्ने बाध्यता रहेको बताउनुभयो।

कार्यक्रममा दुर्घटना पीडित दाहालले आफू दुर्घटना भएपश्चात अस्पतालमा भर्ना भएकै दिनदेखि प्रेस युनियन सुनसरीले आवश्यकीय सहयोग गरेको स्मरण गर्नुभयो। दाहालले हरेक हिसाबबाट सहयोग भएपछि संगठन अपरिहार्य रहेछ भन्ने लागेको भन्दै संगठन अत्यन्तै आवश्यक रहेछ भन्ने आफूलाई अनुभूति भएको बताउनुभयो। उहाँले अहिले आफूलाई सोचेभन्दा छिटो निको हुँदै गएको समेत जानकारी गराउनुभयो।

कार्यक्रममा युनियनका सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्व सम्हालिसकेपछि पत्रकारितामा सकृयहरूको हितको निम्ति काम गरिरहेको बताउनुभयो।

आँफुहरुले अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्चारकर्मीहरुको दुर्घटना बीमा गरेको भन्दै अधिकारीले एक साता अघि मात्रै दुर्घटना बापतको डकुमेन्ट बुझाएको बताउनुभयो।

अध्यक्ष अधिकारीले अर्का एकजना सञ्चारकर्मी पनि दुर्घटनामा परेकोले उहाँको पनि दुर्घटना बीमा दावी गरिएको बताउनुभयो। अधिकारीले कोरोनाकालमा कोरोना बीमाको ३० जना सञ्चारकर्मीलाई ३० लाख रुपैयाँ समेत हस्तान्तरण गरिएको स्मरण गर्नुभएको छ।

दाहाल एक महिना अगाडि सवारी दुर्घटनामा परी घाइते हुनुभएको थियो। दाहालको उपचारमा खर्च भएको रकमको बिल एक साता अगाडि मात्रै युनियन सुनसरी अध्यक्ष पवन अधिकारी, उपाध्यक्ष सञ्जीव वाग्ले र सदस्य विवेक विवश रेग्मीले अजोड इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा बुझाएका थिए।