इनरुवा/ सुनसरीको भोक्राहानरसिंह गाउँपालिकाले गठन गरेको उच्चस्तरीय शैक्षिक सुधार अध्ययन कार्यदलले प्रतिबेदन बुझाएको छ। शिक्षा शाखाको संयोजनमा असार ३० गतेदेखि साउन २३गतेसम्म गाउँपालिकाका ८ वटै वडामा गरिएको अनुगमन तथा निरीक्षणपछि कार्यदलले बिहिबार एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई प्रतिवेदन बुझाएको हो।

धिरेन्द्र प्रसाद यादवको संयोजकत्वमा बनेको १० सदस्यीय कार्यदलले एक महिना समय लगाएर गाउँपालिकाको ६६ वटा शैक्षिक संस्थाहरुको अनुगमन तथा निरिक्षण गरेको थियो। अनुगमन टोलीले २६वटा सामुदायिक बिद्यालय, १५ वटा धार्मिक विद्यालय र २५वटा सामुदायिक बाल विकास केन्द्रको अनुगमन तथा निरीक्षण गरेको हो।

कार्यदलले बुझाएको प्रतिवेदनमा गाउँपालिका भित्रका शैक्षिक संस्थामा देखिएको बेथिति, भ्रष्टाचार, मनोमानी र फर्जी बिद्यार्थीका बिषयहरु समेटिएका छन्। प्रत्येक शैक्षिक संस्थाको वर्तमान अवस्था, समस्याहरु र समाधानका बिषयहरू समेत सुझावको रुपमा कार्यदलले प्रतिवेदनमा उल्लेख गरेको बुझिएको छ। बिभिन्न वडामा सञ्चालित बिद्यालय, मद्रासा र बाल बिकास केन्द्रमा शिक्षकको दरबन्दी अभाव भएको, अध्यापन राम्रो नगराइएको, बिद्यार्थी उपस्थित नभएको, शैक्षिक सामग्रीहरूमा भ्रष्टाचार गरेको र पाठ्यपुस्तक व्यवस्थापन राम्रो नभएको जस्ता समस्याहरू समावेश गरिएको जनाइएको छ।

समस्याहरूको समाधानका उपायहरू समेत सुझावको रूपमा उल्लेख गरिएको उच्च स्तरीय शैक्षिक सुधार अध्ययन कार्यदलका संयोजक धिरेन्द्र प्रसाद यादवले जानकारी दिनुभयो। अव विगतमा जस्तै मनलाग्दी रुपले शैक्षिक क्षेत्रमा हुने बेथिति र भ्रष्टाचारलाई हटाउने अभियानको सुरुवात भएको समेत उहाँले बताउनुभयो।

प्रतिवेदनमा कतिपय शिक्षक तथा प्रअहरुलाई निष्कासन गर्नुपर्ने र नयाँ शिक्षकको दरबन्दी थप गर्नुपर्ने बिषयहरू समेत समेटिएको यादवले बताउनुभयो।

प्रतिवेदन बुझ्दै गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादले अव आफ्नो कार्यकालमा शिक्षाको अवस्था सुधार हुने उद्घोष गर्नुभयो। आजादले शिक्षाको नाममा बेथिति र भ्रष्टाचार गर्ने जो कोहीलाई कारबाहीको भागिदार बनाउने बताउनुभयो। राजनीतिक प्रभाव समेत नहेरी शिक्षा क्षेत्रमा सुधार ल्याउने उहाँको भनाई छ। प्रतिवेदनमा उल्लेख गरिएका बिषयहरु कार्यपालिकाबाट अनुमोदन गरी व्यवहारमा देखिने अध्यक्ष आजादले बताउनुभयो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुनन्दन मेहताले पनि शिक्षा क्षेत्रमा अव परिवर्तन हुने बताउनुभयो । गाउँपालिकाले बनाएको कार्यदलले कसैको दवाब र प्रभावमा नपरी बनाएको प्रतिवेदन कार्यान्वयन गरिने र यसमा सबै अभिभावकले साथ दिनुपर्नेमा जोड दिनुभयो। यस्ता अनुगमन तथा निरिक्षण अव समय समयमा हुने समेत उहाँले बताउनुभयो।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सुनिता कुमारी उराँव, अध्यक्ष आजाद र प्रशासकीय अधिकृत मेहतालगायत अतिथिहरूले कार्यदलमा रहेका सदस्यहरूलाई सम्मान र मायाको चिनो प्रदान गर्नुभयो। कार्यक्रममा शिक्षा शाखा प्रमुख रमेश तिम्सिना, सञ्चारकर्मी तथा सरोकारवाला निकायहरूको उपस्थिति थियो।