बिराटनगर/ मोरङ्गको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बिहिबार मुटु तथा फोक्सो रोग शिविर सञ्चालन गरेको छ। स्थानीय जेष्ठ नागरिक एकता समाजसँगको सहकार्यमा नोबेल अस्पतालले मोरङ्गको सुन्दरहरैंचा नगरपालिका–९स्थित बिराटचौकमा शिविर सञ्चालन गरेको हो।

अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको उपचार गरेको हो। शिविरमा ६० बर्ष नाघेका बृद्ध–बृद्धाको मुटु तथा फोक्सोसँग सम्बन्धित रोगको परिक्षण र उपचार गरिएको छ। नोबेल अस्पतालका मुटुरोग विशेषज्ञ डा.राजेश नेपाल नेतृत्वको डाक्टरहरुको टोलीले १सय ६६जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरेको हो। Senior-citizen

शिबिरमा १सय १७ जनाको इको जाँच पनि गरिएको छ। जटिल समस्या भएका कारण शिविरमा उपचार सम्भव नभएका ४४जना जेष्ठ नागरिकलाई अस्पताल रेफर गरिएको नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिनुभयो।

रेफर गरिएका बिरामीलाई नोबेल अस्पतालको बसले अस्पताल नै लगेर निःशुल्क उपचार गरेपछि घर पुर्‍याईने व्यवस्था मिलाइएको अस्पतालकी प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिनुभएको छ। नोबेल अस्पतालले ग्रामीण क्षेत्रका बिपन्न बिरामीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। जसका कारण लाखौं बिरामी लाभान्वित भएका छन् । Camp-4

बिराटचोक मोरङको क्षेत्र नम्बर ३मा पर्छ। नोबेल अस्पतालका सञ्चालनसमेत रहेका डा.सुनिल शर्मा गत प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेद्वार बन्नुभएको थियो। मोरङ्ग क्षेत्र नम्बर ३मा नेकपा एमालेका उम्मेद्वार भानुभक्त ढकाल निर्वाचित हुनुभएको छ। पराजित भएर पनि शर्माले निरन्तर जनताको सेवा गरिरहनुभएको छ। Health-Camp

यसअघि नोबेलले मोरङको कानेपोखरी ६स्थित रमाइलोमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर १सय ७० जना जेष्ठ नागरिकको मुटु तथा फोक्सो रोगको उपचार गरेको थियो। अव पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा पनि यस्तो शिविर सञ्चालन गरिने प्रवन्ध निर्देशक इन्दिरा शर्माले जानकारी दिनुभएको छ। यसबाहेक क्षेत्र नंम्बर ३मा नोबेलका स्वास्थ्यकर्मीहरुको दुईवटा टोली परिचालन भएर नियमित रुपमा निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेका छन्।