इटहरी/ ब्रम्हबैर्वत पुराणको हिम्मवत् खण्डमा उल्लेखित गंगा नदि(बुढिगंगा)को तटमा अवस्थित बुढिगंगा मुक्तिघाटमा शिवगंगा महाआरती शुरु भएको छ। इटहरीमा पहिलो पटक पितृहरुको उद्धारका लागि बुढिगंगा मुक्तिघाटमा सोमबार देखि महाआरती शुरु गरिएको हो।

शिव सेना नेपाल सुनसरी जिल्ला कार्य समितिको बिशेष पहलमा इटहरीमा पहिलो पटक पितृहरुको उद्धारका लागि बुढिगंगा मुक्तिघाटमा लाख बत्ति प्रज्वलन सहित महाआरती गरिएको छ। सोमबार शुरु गरिएको महाआरती श्रावण महिना भर प्रत्येक सोमबार र भाद्र महिनादेखि महिनाको अन्तिम सोमबार हुने कार्यक्रम आयोजक महाशिव गंगा आरती आयोजक समितिले जानकारी दिएको छ।

ब्रम्हबैर्वत पुराणमा समेत उल्लेख भएको बुढिगंगा मोरङ्गको साबिक याङ्गशिला गाबिस हाल केराबारी गाउँपालिकाको वडा नम्बर ४ मा शुरु भएर सुनसरी, मोरङ्ग जिल्ला हुँदै भारतमा पुगेर गंगा नदिको नाममा चिनिन्छ।

महाशिव गंगा आरती आयोजक समितिले पितृहरुको आशिर्वाद सदैव रहिरहोस भन्ने कामनासहित पवित्र गंगा मुक्तिधाममा सन्ध्याकालिन महाआरती गरिएको जनाएको छ। समितिले नेपाललाई हिन्दु राष्ट्र घोषणा गराउन सरकारलाई दबाब स्वरुप पनि कार्यक्रम गरिएको जनाएको छ।

नेपालभर चर्चित साधुसन्तलगायत पुजारी र हिन्दुधर्म प्रति आस्था राख्ने सयौँ भक्तजनहरुको उपस्थितिमा सोमबार शिवगंगा महाआरती र पितृ उद्धारका निमित्त लाखबत्ती प्रज्वलन गरिएको छ।

इटहरीको बुढिगंगा मुक्तीघाटको बेग्लै पहिचान र इतिहास भएपनि यसको प्रचार हुन नसक्दा पछि परेको भन्दै आयोजकले कार्यक्रममार्फत यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गरिने जनाएको छ।