बिराटनगर/ स्वास्थ्य बिमामार्फत बिरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले आज(सोमबार)देखि स्वास्थ्य विमा बापतको उपचार सेवा बन्द गर्ने भएका छन्।

बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बुढिगंगास्थित बिराट मेडिकल कलेज र झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले एकैसाथ स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने निर्णय गरेका हुन्।

तीनवटै अस्पतालले बिमा कार्यक्रम बन्द गर्ने भन्दै आइतवार सूचना जारी गरेका छन्। आइतवार राती १२ बजदेखि बिमामार्फतको उपचार सेवा बन्द गरिने अस्पतालले जनाएका छन्। स्वास्थ्य विमा कार्यक्रममार्फत विरामीको निःशुल्क उपचार गरेबापत स्वास्थ्य विमा बोर्डले यी तीन अस्पताललाई १ अर्ब ४५ करोड रकम भुक्तानी गर्न बाँकी छ। नोबेलको ५५ करोड, बिराटको ४६ करोड र बीएण्डसीको ४४करोड रकम स्वास्थ्य बीमा बोर्डले भुक्तानी गरेको छैन।

सरकारले अस्पतालहरुलाई बीमामार्फत उपचार गर्न लगाएर करोडौं रकम भुक्तानी नदिएपछि बाध्य भएर स्वास्थ्य बिमाको उपचार सेवा बन्द गर्नु परेको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले बताए। ‘सरकारले करोडौं रकम महिनौंसम्म भुक्तानी नदिँदा अस्पतालहरु धरासायी बन्दै गएका छन्, कर्मचारीहरुलाई समयमै तलब खुवाउन सकिएको छैन, अन्य भुक्तानीहरु रोकिएका छन्, उपचार सेवा नै प्रभावित हुने अवस्था बनिसकेको छ,’ डा.शर्माले भने, ‘सरकार यो बिषयमा गम्भीर बनेन, अरु उपाय नलागेपछि हामीले बाध्य भएर बीमा बापतको उपचार रोक्ने निर्णय लिएका छौं।’

आर्थिक बर्ष २०७९÷८० को बजेट वक्तब्यमा २०७९ साउन १ गतेदेखि सरकारी तथा सामुदायिक स्वास्थ्य प्रदायक संस्थाबाट मात्रै स्वास्थ्य विमा कार्यक्रम उपलब्ध गराउने भनिएको थियो। तर, त्यसपछि अस्पतालहरुलाई कुनै आधिकारीक कुरा नआएकाले अब स्वास्थ्य विमा बापत उपचार गर्दा त्यसको भुक्तानी प्राप्त हुने वा नहुने अन्यौल भएकाले पनि विमा कार्यक्रम बन्द गर्नु परेको डा.शर्मा बताउँछन् । बाध्य भएर स्वास्थ्य विमा कार्यक्रम बन्द गर्नुपरेको भन्दै नोबेलले आइतवार स्वास्थ्य बीमा बोर्डलाई पनि पत्र पठाएको छ।
‘बीमा क्लेम अनुसारको रकम समयमा प्राप्त नहुँदा अस्पतालले आर्थिक व्यवस्थापनमा ठूलो कठिनाइ भोग्दै आइरहेको छ। कर्मचारीको तलब, बिभिन्न सप्लायर्सहरुको बाँकी बक्यौता, बैंकको ऋणको किस्ता तथा व्याज, राज्यलाई भुक्तानी गर्नुपर्ने करलगायत समयमा भुक्तानी गर्न समस्या भएको छ,’ नोबेलले स्वास्थ्य बीमा बोर्डको बिराटनगरस्थित प्रदेश कार्यालयलाई पठाएको पत्रमा भनिएको छ, ‘बीमा क्लेम बापतको भुक्तानी नभएसम्म र सरकारले नीजि स्वास्थ्य संस्थाबाट पनि स्वास्थ्य बीमा कार्यक्रम प्रदान गर्ने निश्चित नगरेसम्म स्वास्थ्य विमा कार्यक्रमको उपचार सेवा स्थगन गरिएको छ।’

सर्वसाधरण जनताको उपचारमा सरकार गैर जिम्मेवार बन्दा निजी अस्पतालहरुले भटाभट स्वास्थ्य विमाको उपचार सेवा बन्द गर्ने स्थिती बनेको विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की बताउँछन्। ‘स्वास्थ्य बीमाले सर्वसाधारणलाई उपचारमा धेरै सजिलो भएको थियो, तर सरकार जनताको मामिलामा गम्भिर नबन्दा अस्पतालहरुले उपचार रोक्नुपर्ने अवस्था बनेको छ,’ डा.कार्की भन्छन्, ‘सरकारले विमाको भुक्तानी नदिदा कर्मचारीहरुलाई तलब खुवाउन सकिएको छैन, कर्मचारीहरुले जागिर छोड्न थालिसके, हामीले बाध्य भएर बीमा उपचार रोक्नु परेको छ।’

यता, बिएण्डसीका सञ्चालक दुर्गा प्रसाई जनताको उपचार सेवा प्रभावित नगरौं भन्दा भन्दै पनि केही उपाय नलागेपछि स्वास्थ्य विमा कार्यक्रमको उपचार बन्द गर्नुपर्ने अवस्था बनेको तर्क गर्छन्। निजी क्षेत्रबाट सञ्चालित पूर्वका तीन ठूला अस्पताल, नोबेल, विराट र बिएण्डसीमा दैनिक हजारौं विरामीले स्वास्थ्य विमा बापत निःशुल्क उपचार गराउँदै आएका थिए । अव, यो सेवा प्रभावित बन्ने भएको हो। स्वास्थ्य बिमा कार्यक्रम बन्द भएपनि शुल्क तिरेर गरिने उपचार सेवा भने सूचारु हुने अस्पतालहरुले जनाएका छन्।

सरकारले प्रति परिवार बार्षिक ३ हजार ५ सय रुपैयाँ लिएर स्वास्थ्य विमा गरी परिवारका पाँचजना सदस्यलाई बार्षिक १ लाख बराबरको निःशुल्क उपचारको व्यवस्था मिलाउदै आएको छ। यसबाट सर्वसाधरणले स्वास्थ्य उपचारमा ठूलो राहत महसुस गरेका छन् । स्वास्थ्य विमा बापतको उपचारका लागि सरकारले देशभरका ४५० स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । तर, उपचार गरेबापत सरकारले स्वास्थ्य संस्थाहरुलाई दिनुपर्ने भुक्तानी समयमै नदिँदा यो सेवा प्रभावित बन्दै गएको हो।