सुन्दरहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा नगरपालिकाले प्रक्रिया पुरा नगरी करारमा राखेका कर्मचारीलाई हटाउने तयारी गरेकोमा स्वतन्त्रसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले बिरोध जनाएका छन्। स्वतन्त्र वडाध्यक्ष भुवन मगरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले आपत्ति जनाएका हुन्।

शिव प्रसाद ढकाल नगर प्रमुख भएको समयमा प्रकृया मिचेर राखिएका करारका कर्मचारी हटाउन खोजेपछि स्वतन्त्रसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले सोमबार नगरप्रमुुख केदार गुरागाँईलाई ज्ञापन पत्र बुझाउँदै ध्यानाकर्षण गराएका हुन्। यस बिषयमा एमालेबाट निर्वाचित वडाध्यक्षहरु भने मौन देखिएका छन्।

केदार गुरागाँई नेतृत्वको जनप्रतिनिधिहरुको कार्यकाल शुरु भएसँगै करारका कर्मचारी आवश्यक नपर्ने भन्दै हटाउने निर्णय भएको बुझिएको छ। सुन्दरहरैँचा नगरपालिकाको १०औँ नगर सभाले पनि प्रक्रिया मिचेर भर्ना गरिएका कर्मचारीको अवधि साउनबाट थप नगर्ने निर्णय गरिसकेको छ।

यो निर्णय कार्यपालिकामा बिना छलफल आएको र नियोजित रुपमा केहि कर्मचारीलाई निकाल्न खोजेको भन्दै वडा नम्बर १का वडाध्यक्ष रामविश्वास खवास, २नम्बर वडाका वडाध्यक्ष विवश प्रधान, ४नम्बर वडाका वडाध्यक्ष कैलाश बस्नेत, वडा नम्बर ६का वडाध्यक्ष सन्तोष लिङ्देन, वडा नम्बर ७का वडाध्यक्ष भुवन सिंह मगर र वडा नम्बर ९का प्रकाश श्रेष्ठले नगरप्रमुख गुरागाँई र प्रमुख प्रशासकीय अधिकृत बिनोद भट्टराईलाई ज्ञापनपत्र बुझाएका हुन्।

वडाध्यक्षहरुले कर्मचारीलाई रोजगारीबाट निकाल्ने निर्णय खारेज गर्नुपर्ने माग राखेका छन्। उनिहरुले निर्णय कार्यान्वयन नभए संघर्षमा उत्रने चेतावनी समेत दिएका छन्।

नगरप्रमुख गुरागाँईले भने यसअघि हुँदै आएका अनियमितता र गलत कामको समर्थन गरेर जान नसकिने भन्दै नगरसभाले गरेको निर्णय जसरी पनि कार्यान्वयन गराएर छाड्ने बताउनुभयो। राजनीतिक आडको भरमा सामान्य अन्तरवार्ता समेत नलिई राखिएका कर्मचारीको अवधि थप गर्न नसकिने गुरागाईको भनाई छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरुमा करारमा जनशक्ति व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि २०७४ बनाए पनि सो कार्यविधिलाई टेकेर जनशक्ति छनौट नगर्दा सुन्दरहरैँँचामा कर्मचारी हटाईन लागेको नगरपालिकाले जनाएको छ। received