लण्डन/ प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताउनुभएको छ। बेलायतको स्कटल्याण्डस्थित इडनबर्गमा भएको अन्तरक्रिया कार्यक्रममा मन्त्री कार्कीले त्यसो भन्नुभएको हो।

कार्कीले गैरआवासीय नेपालीको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिनुभएको छ। मन्त्री कार्कीले गैर आवासीय नेपालीसँग भएको बौद्धिक क्षमता र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके बिकासमा टेवा पुग्नसक्ने बताउनुभयो।

कार्कीले भन्नुभयो “भूकम्प जाँदा अथवा बाढीबाट पीडित भएकाहरुको लागि मात्र होइन गैर आवासीय नेपालीले बिकासका धेरै क्षेत्रमा लगानी गर्न सक्छन्”। उहाँले “बिदेशमा भएका नेपाली फुटेर होइन जुटेर आए संघीय र प्रदेश सरकारले लगानीको उचित वातावरण बनाउँछ । त्यसको सुरक्षाको ग्यारेन्टी पनि सरकारले नै लिन्छ।”

गैर आवसीय नेपालीको छाता संगठन (एनआएनए) ले गरेको कार्यक्रममा कार्कीले गैरआवसीय नेपालीको लगानी सुरक्षणका लागि बिभिन्न योजनाहरु बनाउने बताउनुभयो। गैर आवासीय नेपालीबाट सन्ततीको नागरिकता निरन्तरताको लागि माग उठ्ने गरेको र यो बिषयलाई आफूले नेपाल सरकार समक्ष माग पुर्‍याउने बताउनुभयो। kedar

एनआरएनए स्कटल्याण्डका सभापति काशिराम भण्डारीले गैर आवासीय नेपाली लगानी गर्न तयार रहेको तर झन्झटिलो प्रक्रियाका कारण समस्या हुने गरेको बताउँदै भन्नुभयो,“सहज व्यवस्था गर्नसके बिदेशमा रहेका नेपाली आफ्नै ठाउँमा गएर काम गर्न चाहन्छन्।”

एनआरएनए युकेकी निर्वतमान उपाध्यक्ष रेजिना प्रधान राईले भूकम्प आउँदा अथवा बाढी पीडितलाई संस्थागत सहयोग गर्नेमात्र नभएर लगानीको वातावरण नै सिर्जना गर्न सकिने बताउनुभयो। उहाँले भन्नुभयो,“सरकारले सकारात्मक पहल गरे हामी लगानी गर्न तयार छौं।” कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष मोहन कार्की, स्कटल्याण्ड उपाध्यक्ष उज्वल कार्की, स्कटल्याण्ड राज्य समितिका संरक्षक भोला खनाललगायतले एनआरएनएले सामाजिक क्षेत्रमा गरेका कामको विषयमा चर्चा गरेका थिए।