सुनसरी/ सुनसरीको इटहरी १५ की १६ बर्षीया किशोरी अस्मिता चौधरी १८ दिन देखि बेपत्ता भएकी छन्। गत बैशाख ३०गतेदेखि बेपत्ता भएकी अस्मिताको अवस्था हाल सम्म पत्ता नलागेको हो।

बैशाख ३० गते आफ्नै काका लालु चौधरीले अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती सेलाउन कोशी नदीमा लिएर गएको तर अस्मिता भने घर नफर्किएको अस्मिताका बुवा पशुपति चौधरीले बताएका छन्।

‘काका लालु र बिराटनगर घर भएका धामी दिनेश मण्डलले मोटरसाइकलमा राखेर अस्मितालाई झारफुक गरेको पाती सेलाउन भन्दै कोशी नदिमा लिएर गएका हुन्। त्यो दिनदेखि छोरी घर फर्केकी छैन,’ बुवा पशुपतिले भने।

कोशी लाने भनिए पनि काका लालु र झाँक्री दिनेशले अस्मितालाई बिराटनगरको शनी मन्दिर पुर्‍याएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। जेठ २ गते किशोरीका अभिभावकले इलाका प्रहरी कार्यालय पकलीमा मानव अपहरण तथा शरीर बन्धक आरोपमा दुई जनाविरुद्ध जाहेरी दिएका छन्।

अस्मितालाई बेपत्ता बनाएको आरोपमा लालु चौधरी र सनि मण्डललाई पक्राउ गरेको छ। प्रहरीले काका लालु र सनीलाई पक्राउ गरेपनि झाँक्री दिनेश भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय पकलीका प्रहरी निरीक्षक रविन्द्र थापाले जानकारी दिनुभएको छ। अस्मिता बेपत्ता हुनुमा झाँक्री काम गर्ने दिनेशकै मुख्य हात रहेको अस्मिताका अभिभावकको दावी छ।

बिराटनगरस्थित शनी मन्दिर नजिक रहेको दिनेशको बहिनीको घरमा अस्मिताको पाउजु फेला परेको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो।

-सुचना पोर्टल