बिराटचोक/ मोरङको सुन्दरहरैँचा नगरपालिकामा नेपाली कांग्रेसले निर्वाचन आचारसंहिताको धज्जी उडाइरहेको पाईएको छ। कांग्रेसले ठाउँठाउँमा गिट्टीबालुवा झारिदिनेदेखि लिएर बिद्यालय तथा सार्वजनिकस्थल तथा व्यक्तिका घरमा पार्टीका झण्डा राख्नेलगायतका काम गरेर निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको हो।

त्यसैगरी केही विद्यालय र सामाजिक संघ संस्था पनि कांग्रेसको चुनावी प्रचारमा खुलेरै लागेका छन्। स्थानीय ज्योति माध्यमिक बिद्यालयले मेयरका उम्मेदवार शिवप्रसाद ढकाल र कांग्रेसको चुनाव चिन्ह रुखको फोटो राखेरै आफ्नो फेसबुक पेजमार्फत प्रचार गरिरहेका छन्। गठबन्धनका तर्फबाट सुन्दरहरैँचा नागरपालिकाको मेयरका उम्मेदवार शिवप्रसाद ढकालले अघिल्लो कार्यकालभन्दा ५ गुणा बढी बिकास गर्ने भन्दै बिद्यालयले खुलेआम प्रचार गरिरहेको हो।

सुन्दरहरैँचा–९ बुधबारेस्थित कृषि बजार माछा–मासु भवनमा कांग्रेसको झण्डा फहराइरहेको छ । साथै व्यक्तिका घरमा पनि इच्छाविपरीत रातको समयमा झण्डा राख्ने काम भइरहेको अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य बद्री अर्यालले बताएका छन्। अर्यालका अनुसार कांग्रेसले एमालेलगायत अन्य दलका समर्थकको घरमा पनि जबरजस्ती झण्डा राख्ने गरिरहेको छ। रातको समयमा सुटुक्क झण्डा राखेर निर्वाचनको माहोल आफ्नो पक्षमा रहेको देखाउने प्रयास गरिरहेको अर्यालले बताएका छन्। ‘सर्वसाधारणका घरमा झण्डा राख्नका लागि कांग्रेसले समूह–समूह बनाएर युवा परिचालन गरेको छ,’ उनले भने, ‘निर्वाचन आयोगलाईनै चुनौती दिने गरी गतिविधि भइरहँदा पनि सम्बन्धित निकायले त्यसतर्फ ध्यानै दिएको छैन ।’

sundarharaichha
कांग्रेसले सुन्दरहरैँचा–९ बुधबारेस्थित कृषि बजार माछा–मासु भवनमा राखेको पार्टीको झण्डा

निर्वाचनलाई प्रभावित पार्ने खालका बिभिन्न गतिविधि कांग्रेसले गरिरहेको अर्याल बताउँछन् । निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहित अनुसार कुनै पनि सार्वजनिकस्थलमा पार्टीका झण्डा राख्न पाइने छैन। सार्वजनिकस्थललाई चुनाव प्रचार गर्ने थलो बनाउन मिल्दैन । आचारसंहिताले व्यक्तिका घरमा जबरजस्ती झण्डा वा पार्टीका प्रचार सामग्री राख्न रोक लगाएको छ तर त्यसविपरीतका गतिविधि कांग्रेसले गरिरहँदा पनि नियन्त्रण नगरिनु दुःखद् भएको अर्याल बताउँछन्।

उम्मेदवार ढकाल २०७४ सालको निर्वाचनमा सुन्दरहरैँचा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । पुनः मेयर बन्न उनी दोस्रो पटक चुनावी मैदानमा छन् । गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का नवराज चापागाईं उपमेयरको उम्मेदवार छन्। गठबन्धनको प्रतिस्पर्धी एमालेले मेयरमा केदारप्रसाद गुरागाईं र उपमेयरमा अकली चौधरीलाई उम्मेदवार बनाएको छ। sundarharaichha schoolma Congressko Prachar

कांग्रेस मोरङका सचिव ललित श्रेष्ठले पार्टीका तर्फबाट कतै पनि आचारसंहिताको उल्लंघन नभएको दावी गरेका छन्। ‘आचारसंहिता पालनाका विषयमा कांग्रेस गम्भिर छ । कोही कसैले पनि नियमको उल्लंघन गर्न मिल्दैन,’ उनले भने, ‘कतै त्यस्तो भएको रहेछ भने हामी सचेत गराउछौँ । इच्छाविपरीत राखिएका झण्डा तत्काल हटाउछौँ।’ श्रेष्ठले अहिलेसम्म कतैबाट पनि आचारसंहिता उल्लंघनको जानकारी पार्टीमा नआएको बताएका छन्।