धरान/ स्थानीयतहमा जनप्रतिनिधिहरु निर्वाचित भएको पहिलो कार्यकाल सकिनै लागेको छ। सरकारले आगामी वैशाख ३० गते स्थानीयतहको निर्वाचनको मिति घोषणा गरिसकेको छ। २०बर्षपछि स्थानीय तहमा जनताले आफ्ना प्रतिनिधि देख्न पाएसँगै जनातामा बिकास आकांक्षाहरु तिब्र देखियो।

जनप्रतिनिधिहरु एक कार्यकाल समय बिताएर बिदा हुने समय आइसकेको छ। केही ठाउँका जनप्रतिनिधिहरुले जनताको आर्शिवाद, स्याबासी पाएर हर्षका साथ बिदा हुँदैछन् त केही ठाउँमा जनप्रतिनिधिहरु निराशासहित बिदा हुँदैछन्।

धरान पूर्व नेपालको अन्य स्थानका तुलनामा एक बिकसित उदयीमान शहर हो। जनसहभागिताको शहर, बिकाश निर्माणले तिब्रता पाएको शहरको रुपमा परिचित छ धरान। राजनीतिक रुपमा नेकपा एमालेको बर्चश्व रहेको धरानका १४वटा वडामा एमालेका जनप्रतिनिधीहरु निर्वाचित भएका थिए। यसमध्ये धरानको वडा नम्बर १६पनि हो। वडाअध्यक्षका रुपमा नेकपा एमालेका तर्फबाट निर्वाचित भएका थिए दिलकुमार गिरी। उनले वडा नम्बर १६ लाई एक नमुना वडा बनाउन सफल भएका छन्।

गिरीको नेतृत्वमा निर्वाचित जनप्रतिनिधिहरुले ५ वर्षको समय अवधि सकिनै लाग्दा १० किलोमिटर सडक निर्माण भइसकेका छन् भने ४किलोमिटर ड्रेन निर्माण सम्पन्न भएर अरु तयारी अवस्थामा छ।

लामो समयको अवधिपछि जनताको अधिकार प्राप्त जनप्रतिनिधिहरु स्थानीय तहमा आएर गरेको यस कामलाई त्यसै नकार्न सकिन्न् । वडाको आर्थिक बजेटले वडा भित्र सञ्चालित आयोजना सम्पन्न गर्न सम्भव नरहने वडाध्यक्ष गिरी बताउँछन्। संघीय, प्रदेश, नगरसँगको समन्वयमा वडामा भएका विकाशका योजनाहरु सम्पन्न गर्न गिरीको उल्लेख्य योगदान छ।

धरान उपमहानगरको गौरबको आयोजनाको रुपमा रहेको तारा सुब्बा स्मृती पार्क, खहरे करिडोर निर्माणमा समेत गिरिको कार्यकालमा भएका विकासे काम हुन्। एमालेका तर्फबाट मेयरमा निर्वाचित भएका सुब्बाको मृत्युपछि पार्क निर्माण शुरु भएको थियो । अहिले पार्क निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने करिडोर ४ सय ४० मिटर निर्माण भएको छ।

स्वास्थ्य क्षेत्रमा गिरी समुहको कार्यकालमा उल्लेख्य काम भएको स्थानीयहरु बताउँछन्। वडाकै पहलमै स्वास्थ्य भवन निर्माण भइरहेको छ। कोभिडको समयमा घर घरमा गएर वडावासिहरुको अवस्था बुझ्ने आवश्यक सहयोगका लागी पहल गरेको स्थानीय तेज कुमारी तिम्सिना बताउँछिन्।

वडा कार्यालयको पहलमा कोरोना पोजिटिभ देखिएको घरमा सेनिटाइज गरिदिने, अक्सिजन सिलिण्डर, राहत सामाग्रीहरु समेत प्रदान गरिएको थियो। निम्न आय भएका अति विपन्न परिवारका १ सय जनाको वडा कार्यलयबाटै स्वास्थ्य विमा समेत गरिएको छ भने २ सय ४० घर परिवारलाई एक वर्ष भरीका लागी रु १ लाख बराबरको स्वास्थ्य बिमा गरिएको छ। त्यस्तै, वडाकै समन्वयमा महिला सम्बन्धी रोग, हाडजोर्नी तथा नशा रोग सम्बन्धी स्वास्थ्य शिविरहरु समेत सञ्चालन गरेको छ।

वडाले बालबालिका तथा शिक्षाको क्षेत्रमा समेत चर्चा गर्न लायक कामहरु गरेको छ। वडाले बालमैत्री वडा घोषणा हुन पुरा गर्नु पर्ने ४१ वटा सूचांक मध्ये सत प्रतिशत पुरा गर्दै बालमैत्री वडा घोषणा गर्न सफल भएको छ। वडाले आधारभुत विद्यालयलाई प्रत्येक वर्ष खेल तथा शैक्षिक सामग्री प्रदान गर्दै आएको छ। त्यस्तै, दलित तथा विपिन्न वर्गका बालबालिकाहरुलाई ५० जनालाई न्यानो कपडा (स्वीटर) समेत वितरण गरेको छ। किशोरीहरुलाई आवश्यक पर्ने सेनिटरी प्याड वडाका हरेक विद्यालयहरुमा निःशुल्क वितरण गर्दै आएको छ। सामुदायीक विद्यालयहरुको शैक्षिक तथा भौतिक गुणस्तर सुधारका लागि आवश्यक बजेट समेत प्रदान गरेको छ। वडाले उदाहरणीय कामका रुपमा वडामा रहेका अति विपन्न परिवारको पहिचान गरि ७६ साल देखी प्रत्येक महिना रासन समेत वितरण गरेको छ।

महिलाको क्षमता वृद्धी विकास तथा उनिहरुको आर्थिक उन्नतीका लागी वडाले विभिन्न समयमा तालीम, गोष्ठीहरु सञ्चालन गरेको छ । महिला, लैङ्गिक हिंसा बिरुद्ध सशक्तिकरण, उद्यमशील विकास तालिम, महिलालाई साक्षर बनाउन साक्षरता कार्यक्रमहरुको आयोजनाबाट उनिहरुको क्षमता विकासमा विषेश योगदान समेत पुर्‍याएको छ।

वडाले आफ्ना टोलहरुमा रहेका ६वटा चोकहरुमा फ्रि वाईफाईको समेत व्यवस्था गरेको छ। वडामा रहेका बिशेष क्षमताका व्यक्तिहरुलाई आवश्यक सामग्रीहरु प्रदान गर्दै आएको छ। व्यक्तिगत घटना दर्ता सम्बन्धी वडाले छुट्टै कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको छ।