सुनसरी/ क्लिन नेपालको आयोजनामा इटहरीको पर्यटन प्रवर्द्धनमा युवाहरूको दायित्व सम्भावना र चुनौती विषयक अन्तरसम्वाद कार्यक्रम गरिएको छ। इटहरी उपमहानगरपालिकाको सहकार्यमा सोमबार इटहरी म्याट्रिक्स हलमा अन्तरसंवाद कार्यक्रम गरिएको हो ।

कार्यक्रमको प्रमुख वक्ताको रुपमा नेपाल पर्यटन बोर्डका कार्यकारी सदस्य कृष्ण शाह रहनुभएको थियो । त्यस्तै कार्यक्रममा आन्तरिक पर्यटन प्रवर्द्धन समिति प्रदेश १ वासुदेव बरालले कार्यक्रमको विषयमाथि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रको सहजिकरण र टिप्पणी भने सहजकर्ता कृष्ण भट्टराईले गर्नुभएको थियो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै इटहरी पूर्वको हवको रुपमा रहेको भएपनि इटहरीले टुरिस्ट र पर्यटकलाई छुट्याउन नसकेको वासुदेव बरालले  टिप्पणी गर्नुभयो । इटहरीको पर्यटन प्रर्वद्धनमा युवाहरूले कस्ता कदम चाल्नुपर्छ भन्ने कुराको छलफल गर्न साथै युवाहरू विदेश पलायन हुने संस्कारको अन्त्य गर्न यस्ता खालको कार्यक्रमले सहयोग गर्ने उद्देश्यले कार्यक्रम गरिएको क्लिन नेपाल सुनसरी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिनुभयो । 

कार्यक्रममा नेपाल पर्यटन बोर्ड, होटल व्यवसायी सघं, नागरिक समाज लगायत सुनसरीका विभिन्न सघं संस्थाका प्रतिनिधिहरूले आफ्नो धारणा राखेका थिए । आधिकांश वक्ताले राजनैतिक खिचातानीकै कारण पर्यटन प्रवर्द्धनमा मुख्य समस्या रहेको औँल्याएका थिए ।