बराहक्षेत्र / बराहक्षेत्र -७ मा रहेको उद्यमी क्लबले मंगलबार बराहक्षेत्र-७ स्थित बसन्तऋतु मा.वि. को खेल मैदानमा प्रथम बराहक्षेत्र १० कि.मि. खुला दौड प्रतियोगिताका बारेमा पत्रकार सम्मेलन गरेको छ । क्लबका अध्यक्ष बिष्णु घिमिरेको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा बराहक्षेत्र नगरपालिका वडा नम्बर -७ का वडाध्यक्ष वीर बहादुर लिम्बू , नगर खेलकुद समितिका सदस्य राज लिम्बू (जापान), लगायत बराहक्षेत्रका १४ जना सक्रिय पत्रकारहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष घिमिरेका अनुसार प्रथम पुरस्कार नगद रु.२१ हजार , द्वितीय पुरस्कार १६ हजार , तृतीय पुरस्कार ११ हजार साथमा मेडल, ट्रफी र प्रमाणपत्र रहेको छ । त्यसैगरी चौथो देखि दशौं सम्मलाई जनही २/२ हजार र सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र, टिसर्ट साथै महिला खेलाडीका लागि हौसला स्वरुप आकर्षक पुरस्कारहरु रहेको जानकारी समेत अध्यक्षले दिनु भएको छ । सम्मेलनमा अनुमानित आय तर्फ ४ लाख ३१ हजार ५ सय र अनुमानित व्यय तर्फ पनि ४ लाख ३१ हजार ५ सयको विवरण सार्वजनिक भएको छ ।

हाल सम्म १० कि.मि. दौडका लागि १५० जना भन्दा बढी पुरुष र २५ जना भन्दा बढी महिला सहभागीहरुले नगद रु. २५० तिरेर फारम भरी सक्नु भएको छ । चैत ३ गते बिहान ७ बजे हुने उक्त कार्यक्रमका लागि ५० जना स्वयंसेवक , एम्बुलेन्स , स्वास्थ्यकर्मी साथै सुरक्षाकर्मीको समेत व्यवस्थापन गरिएको छ । यो दौड पहिलो संस्करण भएकोले बराहक्षेत्र भित्रका सहभागीहरुलाई मात्र समेटिएको आयोजकले जनाएको छ ।

4

दौडका लागि चक्रघट्टि जेसिज, उद्योग वाणिज्य संघ बराहक्षेत्र र जनहित क्लब बराहक्षेत्रले एम्बुलेन्स सहयोग गर्ने भएका छन् । आजै पत्रकार सम्मेलनमा दौडका लागि तयार गरिएको टिसर्टको विमोचन समेत अध्यक्ष र अतिथिहरुले संयुक्तरुपमा गर्नु भएको छ ।

दौडको रुट बराहक्षेत्र-७ सोमबारे बजारबाट सुरु भई बिचपानी हुँदै नडाहा चौक पुगि बाङ्गे बाजर हुँदै शिवालय मन्दिर महेन्द्र गेटमा आएर पुनः सोमबारे बाजारमा आएर दौड समाप्त हुनेछ । आयोजकका अनुसार यस दौडको उद्देश्य दुर्व्यसनलाई निरुत्साहित गर्दै दुर्व्यसन मुक्त समाज निर्माणमा टेवा पुर्याउने र दौडमा चाख राख्ने स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन हौसला र साथ सहयोग प्रदान गर्ने रहेको छ ।