सप्तरी/ प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबीकुमारी कर्ण सवार गाडी दुर्घटनामा परेको छ। कर्ण सवार ज १झ ४०६ नम्बरको स्कारपियो दुर्घटनामा परेको हो।

बुधबार साँझ सप्तरीको बिष्णुपुर गाउँपालिका–७ नहर चोकस्थित भित्री सडकखण्डमा गाडीले नियन्त्रण गुमाउँदा दुर्घटना भएको राज्यमन्त्री कर्णले जानकारी दिनुभयो।

साँघुरो बाटोमा मोड्न खोज्दा गाडी पल्टिएर खेतमा पुगेको कर्णले बताउनुभयो। राज्यमन्त्रीसहित गाडीमा सवार मन्त्रीकी स्वकीय सचिव ध्रुवकुमार मण्डल, सुरक्षा गार्ड प्रहरी हवल्दार तुलसीप्रसाद साह, चालक बिकेश चौधरी, नेकपा माओवादीका स्थानीय नेता जयप्रकाश चौधरी र प्रथमलाल राम सवार थिए। दुर्घटनामा केहीलाई सामान्य चोटपटक लागेको र राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारपछि घर पठाइएको छ।

राज्यमन्त्रीको टोली छिन्नमस्ता गाउँपालिका–६ खुदीबखारीका ८९ वर्षीय मुक्तिलाल मण्डलको हत्याबारे जानकारी लिँदै परिवारलाई समवेदना दिएर फर्किरहेका बेला दुर्घटनामा परेको हो।

–न्युज कारखाना