इटहरी/ इटहरी रंगशालामा पौष १७ गते शनिबार सञ्चालन हुने सांगितिक कार्यक्रमको तयारी तिब्र बनाईएको छ। तयारी स्वरुप कार्यक्रम स्थलको झाडी पन्साउनुका साथै सरसफाईलाई तिब्रता दिईएको हो।

रङ्गशालामा प्रकाश सपूत, अल्मोडा राना उप्रेतीसहितका कलाकार आउने भएपछि इटहरीबासी उत्साहित भएका छन्। आँफुले मन पराएका कलाकार इटहरी नै आउने भएपछि इटहरीबासी उत्साहित बनेका हुन्। ग्यालरी इभेन्ट प्रा.लि.ले अंग्रेजी नयाँ बर्ष सन् २०२२ लाई मध्यनजर गर्दै आयोजना गरेको ‘रिफ्रेस नाइट’ कार्यक्रममा प्रस्तुति दिन सपूत र उप्रेतीका साथै धर्मेन्द्र सेवान र दिनेश ढकाल (कालो केशमा रेलिमाई) इटहरी आउने भएपछि इटहरीका बिभिन्न क्षेत्रमा दर्शक श्रोतालाई जानकारी दिन माईकिङ समेत थालिएको छ।

शनिबार दिउँसो २ बजेदेखि शुरु हुने कार्यक्रममा स्थानीय कलाकारहरू गंगा गौतम, सुमन परियार, स्पर्श व्याण्ड, बिशाल पोखरेल, बिहानी डान्स सेन्टरलेसमेत प्रस्तुति दिने ग्यालरी इभेन्टका कार्यक्रम संयोजक बिजय गिरीले जानकारी दिएका छन्।

कार्यक्रममा पछिल्लो समय चर्चित ‘टिकटकरहरु’ सुजा रायमाझी, मनिका बोहोरा, नेल्सन जोडि, मोडल बिनोद बस्नेत र कमेडियन चोर बुढाबाट परिचित अमृत राईसँगै मास्के दाइको पनि उपस्थिति रहने आयोजक ग्यालेरी इभेन्ट्सका अध्यक्ष अजय रामले बताएका छन्।

कार्यक्रममा प्रवेशका लागि सामान्य तर्फ टिकट दर २५० र भिआइपीहरुका लागि टिकट दर १००० तोकिएको आयोजकले जानकारी दिएको छ । टिकट खरिद गर्ने मध्ये भाग्यशाली दुईजनाले लक्की ड्रमार्फत स्मार्ट फोन दिइने आयोजकले जानकारी दिएको छ । कार्यक्रमलाई ‘टुर्वेग बियर’ र ‘प्रिन्सेस वाइन’ले प्रायोजन गरेको छ।