इटहरी/ प्रेस चौतारी सुनसरीको नवौँ अधिवेशन इटहरीमा हुने भएको छ। इटहरीको दुर्गा पार्टी प्यालेसमा यहि पुस २६गते हुने भएको हो।

जिल्ला अधिवेशनको लागि ३१ सदस्यीय अधिवेशन आयोजक कमिटी समेत बनाइएको चौतारी सुनसरी अध्यक्ष शेखर ढकालले बताउनुभयो। नवौँ अधिवेशनले नेतृत्व समेत छान्ने भएकाले चौतारीको अधिवेशनलाई चासोको साथ हेरिएको छ। अधिवेशन गर्न चौतारीले ३वटा उपसमिति बनाएको छ।

जसमा, शुभद्रा प्याकुरेलको संयोजकत्वमा आर्थिक उपसमिति, दिनेश गजमेरको संयोजकत्वमा संगठन बिस्तार उपसमिति र बिकास चाम्लिङ राईको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको छ। अधिवेशनमा चौतारीका करिब २५०बढी प्रतिनिधिहरु सहभागी हुने जनाइएको छ।

अधिवेशनकै अवसरमा ब्लाष्ट दैनिकका सम्पादक तथा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका किशोर कुमार कार्कीले बुबाको नाममा स्थापना गरेको गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कार र उदीयमान पत्रकारिता पुरस्कार समेत वितरण गर्ने जनाइएको छ । कोरोनाको कारण अघिल्लो वर्ष देखि रोकिएको सो पुरस्कार एकै पटक वितरण गरिने छ ।

चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईको संयोजकत्वमा सदस्यमा देवेन्द्र कार्की,रोहित राई,शुकदेव चौधरीको पुरस्कार छनोट समितिमा समेत चौतारीको बैठकले निर्णय गरेको छ।