काठमाण्डौ/ राप्रपा अध्यक्ष पशुपति शमशेर राणाले आफू निर्वाचन प्रक्रियाबाट अलग हुने घोषणा गरेका छन्। मंगलबार पार्टी कार्यालय चाबहिलमा पत्रकार सम्मेलन गर्दै पार्टीको भोलिदेखि सुरु हुने महाधिवेशनको निर्वाचन प्रक्रियाबाट आफू अलग रहने घोषणा गरेका हुन्। 

उनले आफूले सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्ने र कुनै पनि उम्मेदवारतर्फ नखुल्ने बताए। राणाले आजको सन्दर्भमा पार्टी एकता सर्वोपरी सत्य बनेको भन्दै नेतृत्वको रस्साकसीमा फेरि पनि टुट र फुटको श्रृङ्खला नदोहोरियोस् भन्ने मेरो चाहना रहेको बताए।

‘त्यसैकारण देशव्यापी सद्भावना र समर्थनका बाबजुद, पार्टीको एकता र बृहत्तर हितका लागि निर्वाचन प्रक्रियाबाट अलग रहने मैले निधो गरेको छु’, उनले भने, ‘सहमति र सर्वसम्मतिका आधारमा पार्टी नेतृत्व चयन होस् भन्ने मेरो चाहना छ । त्यसैले सर्वसम्मतद्वारा अध्यक्षको चयन होस् भन्ने मेरो प्रयत्न हुनेछ ।’

उनले राप्रपाको सार्थक निरन्तरता, एकता र सर्वसम्मतिका लागि आफ्नो भूमिका र सहयोग अनवरत रहने पनि बताए। राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्नदेले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले लिङ्देनलाई सघाउने निर्णय लिएका छन्।

राणाले भने कतै नखुली नेतृत्वको दौडमा आफू नरहेको र सर्वसम्मत नेतृत्व चयन हुनुपर्नेमा जोडबल गर्ने बताएका हुन्।