सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैँचा ४ मा सञ्चालनमा आउन लागेको पूर्वकै ठुलो त्रिवेणी रिभर साइड रिसोर्ट प्रालिको व्यवस्थापन द प्राईड हस्पिटालिटीले गर्ने भएको छ । पाँचतारे होटल तथा रिसोर्टको व्यवस्थापन हेर्ने प्राईड हस्पिटालिटी र रिसोर्टबीच बुधबार व्यवस्थापन हेर्ने गरि सम्झौता भएको हो।

द प्राईड हस्पिटालिटीका निर्देशक नितेश पोखरेल र रिसोर्टका कार्यकारी निर्देशक रमेश आचार्यबीच व्यवस्थापनको सम्झौतामा हस्ताक्षर भएको छ।

पछिल्लो समय इटहरीसहित प्रदेश १ का ठूला शहरमा सञ्चालित होटल तथा रिसोर्टहरुको व्यवस्थापन गर्दै आएको प्राईडले अंग्रेजी नयाँबर्षको अवसरमा त्रिवेणी रिसोर्टको उद्घाटनको तयारी थालेको निर्देशक नितेश पोखरेलले जानकारी दिनुभयो।

त्रिवेणीसँगै मोरङको बलियामा रहेको गोकर्ण रिसोर्ट एण्ड फन पार्क समेत प्राइड हस्पिटालिटीले व्यवस्थापन हेर्ने गरि सम्झौता भएको छ। गोकर्ण र त्रिवेणी रमेश आचार्यकै लगानीमा सञ्चालित रिसोर्ट हो।

गोकर्ण रिसोर्ट सञ्चालनमा आइरहेको भएपनि अब पूर्ण रुपमा नयाँ व्यवस्थापनबाट सञ्चालनमा आउने पोखरेलले जानकारी दिनुभयो। यी दुई रिसोर्टसँगै प्राइडले ८ वटा होटल तथा रिसोर्टको व्यवस्थापन हेर्न भएको छ। यसअघि प्रदेशकै प्रख्यात गोरखा होटलको व्यवस्थापन पनि प्राइडले नै हेर्दै आएको छ।