इटहरी/ गएको भदौ २१ गते बिहान संखुवासभाको मादी नगरपालिका १ खोलागाउँका कार्की परिवारको हत्याको बिषयमा ‘ट्विष्ट’ आएको छ । प्रहरीले हत्यामा संलग्न अन्य चारजनालाई पनि पक्राउ गरेर सार्वजनिक गरेसँगै घटनामा ‘ट्विष्ट’ आएको हो।

संखुवासभामा प्रहरीले सोमबार (आज) पत्रकार सम्मेलन गरेर अन्य चारजनालाई पनि सार्वजनिक गरेको हो। प्रहरीले सोमबार घटनाका मुख्य योजनाकार स्थानीय लालबहादुर कार्कीको ४७ बर्षीय छोरा खड्ग बहादुर कार्की, खड्गबहादुरका २८ बर्षीय छोरा हस्त बहादुर, यसअघि नै पक्राउ परेका लोकबहादुरका बुवा ४९ बर्षीय रणबहादुर र लोकबहादुरका भाई १७ बर्षीय नरेश कार्कीलाई सार्वजनिक गरेको हो। poo

प्रहरीले सार्वजनिक गरेका खड्गबहादुर मृतक तेजबहादुरका बडिबाका छोरा हुन् भने खड्गबहादुर र रणबहादुर दाजुभाई हुन्।

किन भएको रहेछ सामुहिक हत्या (प्रहरी अनुसन्धानबाट खुलेका थप तथ्य)
मादि हत्याकाण्ड योजनाबद्ध ढंगबाट ५जनाको समुहले घटाएको रहस्य सार्वजनिक भएको छ । योजना भने प्रहरीले यसअघि नै सार्वजनिक गरेका लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो राति ८ बजे बनाएको खुलेको छ।

घटनाका मुख्य योजनाकार खड्गबहादुरसहित हस्तबहादुर, लोकबहादुर र नरेश समेत बसेर योजना बनाएको थप अनुसन्धानबाट खुलेको छ। उनिहरुको योजना अनुसार घटनाको दिन २१ गते बिहान मृतक तेजबहादुर कार्की खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोहि बेला मौका छोपेर तेज र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए उनिहरुको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेजबहादुरको घरमा भएको धनमाल समेत लाने योजना रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरी अनुसन्धानमा घटनाको दिन मृतकको पिप्लेमा रहेको खेतमा खड्गबहादुर, हस्तबहादुर, लोकबहादुर र नरेश खेताला जाने बिषय पहिला नै निश्चित भएको हुँदा योजना अनुसार मृतक तेजबहादुर बिहान आउने निश्चित गर्न खड्गबहादुर बिहानै ५बजे तेजबहादुरको घरमा गएर ‘लोके अल्छि छ घरमै गएर खेताला निश्चित गर्नु’ भनेर तेजबहादुरलाई लोकबहादुरको घर जान अभिप्रेरित गरि घर फर्किएको देखिएको छ।

यसैक्रममा तेजबहादुर लोकबहादुरको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर तेजबहादुरको घर पछाडि चिर्पट बोकेर तयारी अवस्थामा रहेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

बिहानै उठेका तेजबहादुर लोकबहादुरको घरमा खेताला निश्चित गर्न जाँदा सुतिरहेको लोकबहादुर लाई ‘अल्छि अझै सम्म उठेको छैनस’ भन्दै कराएपछि लोक बहादुर उठेको प्रहरी अनुसन्धानमा खुलेको छ। सो समयमा लोकबहादुरको भाई नरेश र बावु रणबहादुर कार्की समेत घरमै रहेको प्रहरी अनुसन्धानमा खुलेको छ।

तेजबहादुर घरबाट फर्केने क्रममा योजना अनुसार लोकबहादुरले भाई नरेशलाई ईसारा गरि आफुले चिर्पट र अलैचि काट्ने चक्कु बोकि पछि पछि गई घर पछाडिको गोगनेको रुख नजिकै तेजबहादुरको टाउकोमा प्रहार गरि लडाएको र खड्गबहादुर र हस्तबहादुर पनि चिर्पट लिएर आएर तेजबहादुर माथि पटकपटक प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरि डिलबाट लडाएर बाटोमा पुर्‍याएर हत्या गरि घोप्टो पारेको अनुसन्धानमा खुलेको छ ।

घटनाको बेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हार गुहार गरेको सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेजबहादुरको श्रीमति अनि ससुराले गुहार मागेको सुनेर बुहारी आएकोमा लोकबहादुरले कमलालाई प्रहार गरेको त्यसपछि कमलाको घाँटिमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेलेर खोल्सामा झारेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिलेर हत्या गरेको र रञ्जनाको शव लोकबहादुरको बुवा रणबहादुर र नरेशले कमलाको शव भएको ठाउँसम्म पु¥याउन सहयोग गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

सो घटनाको बेला मृतक नावालकहरु दिपेन र गोमा पनि घर नजिकै बाटोमा आएको देखेपछि हस्तबहादुर र लोकबहादुरले बाटो छेकेर मुख थुनि लोकबहादुरले चिर्पटले हिर्काएर घाँटी बटारेर हत्या गरेको खुलेको छ ।

यति गरिसकेपछि पाँचैजना मृतकको घर गएको र घरमा रहेकी ८४ बर्षीया पार्वती कार्की मकै नंग्याई रहेको अवस्थामा हस्तबहादुरले समातेर घर पछाडिको गोठ नजिकै लगेको अनि लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारेर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

त्यसपछि सबैजना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकेर लोकबहादुरको घरमा गई शरिरमा लागेको रगत पखाली छुरी धोएर बुईगलमा लुकाएको अनि घटनामा प्रयोग भएका चिर्पटहरु अगेनामा डडाएको, रगत लागेको कपडाहरु पनि लुकाएको अनि खड्गबहादुर र उनका छोरा हस्तबहादुर घर तर्फ गएको र फर्कने क्रममा रञ्जनाको ओप्पो मोवाईल नरेशले बोकेर घरतर्फ पुगेर स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको अनुसन्धानमा खुलेको छ ।

यस्तो भएको थियो पाँचैजनाको सल्लाह
घटनापछि खड्गबहादुर र उनको छोरा हस्तबहादुर पुन लोकबहादुरको घरमा गएर सबैजना मिलेर कसैले सोधेमा घटनाको बारेमा कुनैपनि कुरा नसुनेको र थाहा नपाएको भन्ने सल्लाह गरेका थिए।

यसैक्रममा यदि प्रहरी आएर घटनाको बिषयमा पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण आँफुले नै घटना घटाएको र आँफुले नै जिम्मा लिने भन्ने सल्लाह गरेर फकिएका थिए।

घटनामा संलग्न अन्य चारैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको र अनुसन्धानको क्रममा सबैजनाले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाईल समेत बरामद गरि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

हत्या गर्नुका कारण
मादि हत्याकाण्डका मुख्य आरोपी खड्गबहादुर नियमित रक्सी खाने र घरमा श्रीमति र परिवारका सदस्यहरूलाई कुटपिट गर्ने गालिगलौज गर्ने र तेजबहादुरले ‘तँ जड्याहा किन यसो गर्छस’ भनि कराउने गरेको र खड्गबहादुरले पनि ‘तलाँई के मतलव तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको र लोकबहादुरलाई ‘तँ पागल, अल्छि, केहि काम गर्न सक्दैनस’ भन्ने गरेको अनि नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भईस’ भन्ने गरेको र रणबहादुरलाई पनि ‘तँ लठेप्रो केही गर्न सक्दैनस’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भनि मनमा ईख पालेको र घटनाको दिन घटनामा संलग्न सबैजना मृतकको खेतमा खेताला जानुपर्ने कारण सोहि मौका छोपि योजना बनाई हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

घटनामा मारिएका थिए यिनिहरु
जीवित रहेका ९० बर्षीय बौद्धबहादुर कार्कीकी श्रीमति ८४ बर्षीया पार्वता भन्ने पार्वती कार्की, बौद्वबहादुर र पावर्तीका ५५ बर्षीय छोरा तेजबहादुर, तेजबहादुरकी श्रीमति ५४ बर्षीया कमला भन्ने मनमाया, मनमाया कि बुहारी ३२ बर्षीया रञ्जना, रञ्जनाका छोरा ८ बर्षीय विपिन भनिने दिपेन दिपेनकी बहिनि ५ बर्षीया गोमा गरि एकै परिवारका ६जनाको टाउको तथा शरिरको बिभिन्न भागमा चिर्पट तथा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो।

घटनामा यसअघि नै संलग्नता स्विकार गरेका २५बर्षीय लोकबहादुरलाई भदौ २७ गते पत्रकार सम्मेलन गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

अनुसन्धानमा संलग्नहरु

घटनाको थप अनुसन्धान गर्न १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रही नायव महानिरीक्षक अरुण कुमार बिसिको निर्देशनमा संघीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभाकाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय बिराटनगर(RIT) का प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ्गसहितको संयुक्त अनुसन्धान समुह निरन्तर रुपमा थप अनुसन्धानमा जुटेको थियो।

लोकबहादुलाई सार्वजनिक गरिसकेपछि पनि थप अनुसन्धान गर्ने क्रममा प्रहरीले थप तथ्यहरू र घटनाको मुख्य योजनाकारसहित मादी १ उम्लिङ खोलागाउँ बस्ने अरु ४जनालाई नियन्त्रणमा लिई कारवाही प्रकृया अगाडि बढाएको हो ।

यो पनि : लोकबहादुरलाई दिएको अर्ति बन्यो कार्की परिवारको बिनासको कारण (घटनाको नालिबेलीसहित)