काठमाण्डौ/ नेपालीको महान चाड बडादशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले सोमबार(आज) देखि नयाँ नोट उपलब्ध गराउने भएको छ। काठमाण्डौ उपत्यकाभित्र आजदेखि इजाजत प्राप्त बाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको हो।

दशैंमा नयाँ नोटको बिशेष महत्व रहने भएकाले नोट बितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकको नोट व्यवस्थापन बिभागले काठमाडौँ उपत्यकाभित्र इजाजतप्राप्त बाणिज्य बैंकका तोकिएका शाखा कार्यालयमार्फत नयाँ नोट सटहीको सुविधा प्रदान गरिएको जनाएको छ।

बाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गएर नोट सटही गर्न सकिने केन्द्रीय बैंकको सूचनामा उल्लेख छ। कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सतर्कता अपनाएर नोट सटही गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

काठमाडौँ उपत्यका बाहिर राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा बाणिज्य बैंकले तोकेको आफू नजिकको शाखा कार्यालयमा गई नोट सटहीको सुविधा लिन सकिने सूचनामा उल्लेख छ।

नोट सटही गर्न जाँदा सरकार तथा स्थानीय प्रशासनले तोकेको स्वास्थ्य मापदण्ड अपनाउन र सामाजिक दूरीको पूर्ण पालना गर्न अनुरोध गरिएको छ । केन्द्रीय बैंकले १५ अर्ब रुपैँयासम्म ५, १०, २०, ५० र १०० बराबरको नोट बितरण गर्ने तयारी गरेको छ । कूल रुपमा केन्द्रीय बैंकले ३५ अर्ब रुपैँया बराबरको नयाँ नोट बितरण गर्ने तयारी भएको जानकारी दिएको छ ।

नयाँ नोट लिनका लागि सर्वसाधारणले केन्द्रीय बैंकको कार्यालयमा लामो लाइन लाग्ने गरेको यर्थाथलाई आत्मसात् गर्दै २७ वटै वाणिज्य बैंक र तिनका शाखा कार्यालयमार्फत बितरण गर्ने व्यवस्था मिलाएको छ।