बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालले प्रदेश नम्बर १ मा पहिलो पटक मृगौला प्रत्यारोपण सेवा शुरु गरेको छ। श्रीमतीको मृगौला श्रीमानको शरिरमा सफलतापूर्वक प्रत्यारोपण गरेर नोबेलले सेवा शुरु गरेको हो।

सुनसरीको धरान–६ का ३३ बर्षीय टेकनाथ भुर्तेलको शरिरमा उनकी श्रीमती ३३ बर्षीया नन्दकुमारीको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्माले जानकारी दिनुभयो।

नोबेलमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरिएको जानकारी गराउँदै डा.शर्माले प्रदेश नं.१ मै पहिलो पटक नोबेलले मृगौला प्रत्यारोपण थालेको जनाउनुभयो । उहाँले भन्नुभयो ‘अव नियमित रुपमा मृगौला प्रत्यारोपण सेवा सञ्चालन गछौं’। अहिले संघीय राजधानीमा मात्र मृगौला प्रत्यारोपण सेवा उपलब्ध छ । पूर्वी नेपालमा पहिलो पटक नोबेलमा यो सेवा शुरु भएको हो ।

नोबेलका मृगौला रोग बिशेषज्ञ तथा मृगौला प्रत्यारोपण फिजिसियन डा.शैलेन्द्र श्रेष्ठ र यूरोलोजिष्ट तथा मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा.रामसागर शाहको नेतृत्वमा यो सेवा शुरु गरिएको हो । नोबेलका मृगौला प्रत्यारोपण शल्य चिकित्सक डा.शाहसहितको टिमले गत शनिवार भुर्तेलको शरिरमा सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेको हो। मृगौला प्रत्यारोपणका लागि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रका निर्देशक प्रा.डा.प्रेम ज्ञवाली, डा.दिपेश श्रेष्ठ, एनएसथियोलोजिष्ट अर्चन अधिकारीसहितको टिमले सहयोग गरेको थियो। Nobel Ma Kidney Transplant Photo 3

ल्याप्रोस्कोपिक बिधिबाट श्रीमतिको बायाँ मृगौला निकालेर श्रीमानको पेट चिरेर दायाँतर्फ राखिएको डा.शाहले जानकारी दिनुभयो । डा. शाहले भन्नुभयो ‘मृगौला प्रत्यारोपण थालेको पहिलो पटक नै नेपालका कुनैपनि अस्पतालले ल्याप्रोस्कोपिक बिधिबाट मृगौला निकालेर प्रत्यारोपण गरेका छैनन्, हामीले पहिलो पटक नै ल्याप्रोस्कोपिक विधि प्रयोग गर्‍यौँ’ ।

दुई बर्ष अघिदेखि दुवै मृगौला ‘फेल’ भएपछि टेकनाथले नियमित डाइलाइसिस गराउँदै आउनुभएको थियो । मृगौला प्रत्यारोपणपछि अहिले श्रीमान–श्रीमती दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको मृगौला प्रत्यारोपण फिजिसियन डा.श्रेष्ठ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ‘मृगौला प्रत्यारोपण सफल भएपछि उहाँले डाइलाइसिस गरिरहनुपर्दैन, सामान्य दैनिकीमा फर्कनुहुन्छ,औषधि भने खाइरहनुपर्छ ।’

नोबेल अस्पतालका निर्देशक डा.राजेश नेपालका अनुसार मृगौला प्रत्यारोपण सेवा सञ्चालनका लागि अनुमति माग गर्दै नोबेलले २०७६ भदौ महिनामा दरखास्त दिएको थियो । स्वास्थ्य सेवा बिभागको अङ्ग प्रत्यारोपण समन्वय समितिको गत साउन १ गतेको निर्णय बमोजिम नोबेललाई मृगौला प्रत्यारोपणका लागि अनुमति दिइएको हो । दुबै मृगौला पूर्ण रुपमा ‘फेल’ भएका बिरामीहरुलाई मृगौला प्रत्यारोपण गर्ने गरिन्छ। नोबेलले यो सेवा शुरु गरेपछि पूर्वी नेपालका मृगौला बिग्रिएका बिरामीहरुलाई सहज भएको छ।