सुनसरी/ गएको २१ गते बिहान मृत फेला परेका संखुवासभाको मादी नगरपालिका १ उम्लिङ खोला गाउँका तेजबहादुर कार्की र स्थानीय लोकबहादुर कार्की नाताले बडिबा–भतिज हुन्। तेजबहादुरका बुवा र लोकबहादुरका हजुरबुवा सहोदर दाजुभाई हुन्।

लोकबहादुरका हजुरबुवाको यसअघि नै मृत्यु भईसकेको छ । लोकबहादुरका हजुरबुवाको मृत्यु अघि मृतक तेजबहादुर र उनका बुवा ९०बर्षीय बौदबहादुर कार्की(मादी हत्याकाण्डमा जीवित)लाई मेरो छोरा रणबहादुर सोझो छ कसरी गरि खान्छ दुख पाउँछ होला तिमीहरु बाचुञ्जेल रेखदेख अराई–कराई गरिदिनु नै भन्ने गरेका थिए ।

लोकबहादुरका हजुरबुवाको देहान्तपछि बृद्व बौदबहादुर र तेजबहादुरले रणबहादुर र लोकबहादुरलाई अराई–कराई गरिदिँदा रहेछन्।

घटनाको मुख्यकारण :
लोकबहादुर बैदेशिक रोजगारीको लागि सन् २०१४ र २०१९मा २ पटक कतार अनि सन् २०१६मा मलेशियामा काम गर्न समेत गएका रहेछन् । पछिल्लो पटक स्वास्थ्यमा समस्या आएपछि केहि महिनामा नै काम गर्न नसकि फर्केर आएका थिए।

लोकबहादुरको स्वभाव बेला बेला आक्रोशित हुने नजिकमा रहेकाहरुलाई जे पायो तेहिले आक्रमण गर्न खोज्ने, राति नसुत्ने र एक्लै हिड्ने र घरमा बुवा अनि भाईसँग झै–झगडा गर्ने खालको रहेको स्थानीयको भनाई छ । लोकबहादुरका बुवा रणबहादुर कान कम सुन्ने, बोलि लटपटिने र फौदबहादुरको परिवार भन्दा तुलनात्मक रुपमा कमजोर आर्थिक अवस्थाको रहेका छन् ।

रणबहादुरका बुवाले मर्ने बेलामा रेखदेख गरिदिन भनेकोले तेजबहादुरले रणबहादुरको घरमा बेला बेलामा गएर लोकबहादुरलाई सम्झाउने, काम अराउने र काम नगरेको खण्डमा तँ पागल अल्छी, काम पनि गर्दैनस् भनि सम्झाउने, कराउने गरेको प्रहरी अनुसन्धानमा खुल्न आएको छ । यसरी सम्झाउदा कराउँदा लोकबहादुरले गम्भिर रुपमा मनमा लिएको अनि तीनपटक सम्म बिदेश जाँदा पनि कमाउन नसकेको, बिदेश जाँदाको ऋण र आमा बिरामी हुँदा उपचार खर्च र उपचारकै क्रममा देहान्त हुँदा कृयाखर्च समेत भएको जग्गा बेचेर तिर्नु परेको बिषयले लोकबहादुरलाई हिनतावोध गराईरहेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।

IMG_1429
लोकबहादुरलाई सार्वजनिक गर्दै प्रहरी / तस्विर : पूर्वीखबर

कसरी भयो हत्या ?
भाद्र २१ गते बिहान तेजबहादुरको घर देखि १घण्टाको पैदल यात्रामा पुग्ने मादि नगरपालिका ३ पिप्लेमा रहेको खेतमा धान गोड्न गाउँबाट खेताला लग्ने कार्यक्रम थियो। धान गोड्न लोकबहादुर र उनका भाई नरेश पनि जाने कार्यक्रम रहेको बुझिएको छ । बिहानै तेजबहादुर कार्की लोकबहादुरको घरमा आएर खेताला कन्फर्म गरी फर्कने क्रममा आक्रमण भएको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रहरी अनुसन्धानमा घटनाको प्रकृति र घटनास्थलको विश्लेषण गर्दा पटक पटकका तेजबहादुरका कुराहरुले लोकबहादुरलाई तेजबहादुर प्रति अत्याधिक घृणाको भावना बिकाश भएको र घटना अघिको रात छटपटि भई सुत्न नसकि बिक्षिप्त मानसिक अवस्थामा रहेको देखिएको छ ।

लोकबहादुरको बयान अनुसार घटना अघिको रात उनलाई रातभर निन्द्रा नलागेको रातभर छटपटी मात्र भएको अनि बिहानै भाईले गाईबस्तुलाई खोले पकाईसकेर चिया बनाइ पिएर रणबहादुर(बुवा) र नरेश(भाई) घाँस काट्न गएको बुझिएको छ।

घरमा एक्लै भएको बेला अझै रातभर अनिदो अनि बिक्षिप्त अवस्थामा रहेको अझ आफुलाई पटक पटक पागल र काम गर्न नसक्ने भनेको कुरा सम्झिएर यहि नै उपयुक्त समय हो ठान्दै रिसको झोकमा खेताला कन्फर्म गरेर फर्कने क्रममा नजिकै रहेको दाउराको हारबाट चिरेको दाउरा(चिर्पट) निकालेर तेजबहादुरलाई पछ्याउँदै गएर बारिको डिलको गोगनेको बोट नजिकै चिर्पटले पछाडीबाट टाउकोमा पटक पटक प्रहार गर्दा तेजबहादुर ढलेर अनियन्त्रित भई भिरालो जमिनबाट लडेर बाटोमा पुगेर धर्मराउदै ‘लोकेले मलाई मार्यो’ भन्दै उठ्न खोज्दा पुन टाउकोमा प्रहार गरि घोप्टो पारि ५५ बर्षीय तेजबहादुरलाई लडाएको अनुसन्धानमा खुलेको छ ।

यसरी तेजबहादुरले हारगुहार गरेको सुनेपछि तेजबहादुरकी श्रीमति ५४ बर्षीया कमला भनिने मनमाया र मनमायाकी बुहारी ३२ बर्षीया रञ्जना तेजबहादुरको आवाज आए तर्फ आउँदा लोकबहादुरले मनमाया र रञ्जनाले समेत थाहा पाएको ठानी मनमायालाई खोल्सिमा भेटेको अनि सोहि चिर्पटले २/३ पटक प्रहार गरेको अनि रन्थनियर बाटोबाट खोल्सिमा खसेको र सोहि क्रममा मनमायालाई चिर्पट प्रहार भएको देखि रञ्जना बेहोस जस्तो भएर भुईमा ढलेको अनि उठ्न खोज्दा रञ्जनालाई पनि टाउकोमा पटक पटक प्रहार गरि मनमाया लडेको ठाउँतिर हुत्याई दिएको लोकबहादुरले बयानका क्रममा बताएको प्रहरीले जनाएको छ ।

यसपछि घर नजिक बाटोको डिलमा आएका ८ बर्षीय बिपिन भन्ने दिपेन र ५ बर्षीया गोमालाई लोकबहादुरले देखेपछि लखेटेर सोहि चिर्पटले गर्धन लगायतका ठाउँमा प्रहार गरेर हत्या गरेको लोकबहादुरले बयानमा भनेको प्रहरीले जनाएको छ ।

दिपेन र गोमाको हत्या गरेपछि बौदबहादुरको घर तर्फ आएर घर पछाडि खोले पकाउने ठाउँमा रहेकी बौदबहादुरकी श्रीमती ८४ बर्षीया पार्वती भन्ने पार्वता कार्कीलाई भेटेपछि लोकबहादुरले कपालमा समातेर घरको भित्तामा पटक पटक टाउको ठोकाएर हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

त्यसपछि लोकबहादुरले घटनामा प्रयोग गरेको चिर्पट अगेनामा हालेर आगो बालि नष्ट गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा घटनास्थलमा रहेका शवहरु फरक फरक ४ ठाउँमा रहेको र लोकबहादुरको बयान अनुसारको आक्रमणको प्रकृतिलाई हेर्दा सबैभन्दा पहिले शारीरिक रुपमा बलियो रहेका तेजबहादुरलाई पछाडिबाट आक्रमण गरि हत्या गरेको र क्रमश: तुलनात्मक रुपमा कमजोर शारीरिक अवस्थाका महिला, नावालकलाई फरक फरक ठाउँमा एउटै ब्यक्तिले एउटै चिर्पटले हानेको देखिएको र बृद्धामाथि आक्रमण भएको देखिएको प्रहरीले जनाएको छ ।

४९ जना प्रहरी परिचालित थिए
कार्की परिवार मृत भेटिएको जानकारी प्राप्त हुनासाथ २ घण्टामा घटनास्थलमा पुगेर घटनास्थललाई प्रहरीले सुरक्षित गरेको थियो । त्यसपछि इलाका प्रहरी कार्यालय चैनपुर, जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहितको टोलि, प्रदेश प्रहरी कार्यालय बिराटनगरबाट डिआईजी अरुण कुमार बिसी सहितको टोलि एवं र केन्द्रीय अनुसन्धान ब्यूरोसहित ४९ जना प्रहरी परिचालित थिए।

घटना भएको साँझ प्रहरी टोलि पुगेर प्रारम्भिक रुपमा जाँचबुझ गरेर भोलिपल्ट अर्थात २२ गते घटनाको बिश्लेषण एवं बिस्तृत अनुसन्धान शुरु गर्नुका साथै कुकुर परिचालन, घटनास्थलमा लास जाँच मुचुल्का तयार गर्नुका साथै भौतिक सवुत प्रमाण संकलन, खानतलासी एवं स्थानीय मानिससँग सोधपुछ बयान लगायतका काम गरेको थियो । सोहि दिन १ बजे शवहरुको पोष्टमार्टमको लागि धरानस्थित बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाएको थियो ।

मृतकको घरमा ८ लाख ८९ हजार नगद, सुनचाँदीका गरगहना तथा मृतकले लगाएका गहनाहरु प्रहरीले यथास्थितिमा नै रहेको अवस्थामा फेला पारेको थियो ।

घटनास्थलमा संघीय प्रहरी कार्यालय धरानका प्रहरी उपरीक्षक भिम दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदी, केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी नाउव उपरीक्षक रुगम कुँवर र प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङ, इप्रका चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको टोलीले कमाण्ड पोष्ट स्थापना गरि संयुक्त रुपमा अनुसन्धान अगाडि बढाएको थियो । यसैक्रममा २३ गते १ नम्बर प्रदेश प्रहरी कार्यालयमा प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) अरुणकुमार बिसि घटनास्थल मा नै पुगेर अनुसन्धानको नेतृत्व गर्नुभएको थियो।

संखुवासभा पुगेर फर्किएपछि अनुसन्धान अधिकृत, स्थानीयबासी एवं पत्रकार सम्मेलनबाट प्राप्त जानकारीका आधारमा पूर्वी खबरका सम्पादक त्रिलोचन पौडेलले तयार पारेको रिपोर्ट