अन्य पालिकामा दर्ता भएका सिटी सफारीले विराटनगर प्रवेश नपाउने

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ २१, २०७८

विराटनगर/ सिटी सफारी तथा अटो रिक्साका कारण विराटनगरको अवस्था अस्तव्यस्त छ । विगत ५ वर्षदेखि अत्याधिक रुपमा बढेको सिटी तथा अटोको कारण विराटनगरको ट्राफिक व्यवस्थापन समस्याग्रस्त छ । विराटनगर महानगरपालिकाले सिटी रिक्साका कारण सवारी जाम बढेको भन्दै छिमेकी गाउँपालिकामा दर्ता भएका अटो तथा सिटीलाई महानगरपालिकामा प्रवेश रोकेको हो ।

महानगर क्षेत्रमा ट्राफिक व्यवस्थापनमा समस्या आउन थालेपछि त्यसको न्यूनीकरणको लागि छिमेकी पालिकाबाट यात्रु बोकेर विराटनगर आउने सिटी रिक्सालाई आजदेखि  प्रतिबन्ध लगाइने भन्दै सूचना जारी गरेको छ । महानगरपालिकाले यातायात व्यवस्था कार्यालयको इजाजत पत्र र स्थायी बसोबासको आधार मानेर रुट कायम गर्ने तयारी गरेसँगै अब बाहिरी पालिकामा दर्ता भएका सिटी तथा अटोले विराटनगर महानगरपालिकामा प्रवेश पाउने छैनन् ।

प्रदेश सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ तथा प्रदेश सवारी तथा यातायात नियमावली २०७७ र विराटनगर यातायात व्यवस्थापन कार्यविधि २०७७ अनुसार अन्य पालिकाबाट प्रवेश गर्ने सिटी सफारीलाई रुट परमिट नदिने निर्णय गरेको विराटनगर महानगरपालिका राजश्व प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानले बताए । महानगरपालिकाले गत भदौ १० गतेदेखि यही ऐन, नियमावली र कार्यविधिमा टेकेर तीन पाङग्रे सवारीको नवीकरण, रुट इजाजत, चालक अनुमति पत्र तथा जाँच पासको काम महानगरपालिकाबाट नै गर्दै आएको छ ।

विराटनगर महानगरपालिका मात्रै ४ हजार ४ सय सिटी सफारी रहेको अनुमान गरिएको छ । महानगरको दर्ता प्रक्रियाभित्र प्रवेश गरेपछि यसको यकिन संख्या आउने प्रधानले बताए । छिमेकी पालिकाबाट समेत सिटी सफारी प्रवेश गर्दा महानगरको ट्राफिक व्यवस्थापन चुनौती भएकोले सर्वपक्षीय हितका लागि यस्तो निर्णय गरिएको महानगरले जनाएको छ ।

निर्णय सच्याउन माग 
महानगरको निर्णयको विरोधमा केही सिटी तथा अटो चालकहरु आन्दोलित भएका छन् । विराटनगर महानगरपालिकाले तत्काल निर्णय सच्याउनुपर्ने माग गर्दै सिटी सफारी चालक संघका अध्यक्ष एवं कटहरी-जहदा सिटी सफारी चालक संयुक्त संघर्ष समिति बनाएका छन् ।

संघका  संयोजक काशीराम राजवंशीले महानगरपालिकामा प्रवेश गर्ने सफारीलाई निषेध गर्ने निर्णयले रोजगारी खोसिएको गुनासो गरे । यसअघिसम्म विराटनगर महानगरपालिका भित्र प्रवेश गर्ने सिटी सफारीले दैनिक १० रुपैयाँ सवारी कर बुझाउँदै आएका थिए ।

महानगरपालिकाले हाटखोला, बरगाछी र केशलियामा ढाट राखेर छिमेकी पालिकाबाट प्रवेश गर्ने सिटी सफारीका चालकसँग १० रुपैयाँ कर असुल्ने गरेको  संघर्ष समितिका सह–संयोजक दीपक मण्डल राजवंशीले बताए भनेर सुमन सुस्केराले मकालु खबरमा समाचार लेखेका छन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved