सुन्दरहरैँचा/ नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले अहिलेको नेकपा एमाले पुरानै अवस्थाको एमाले नरहेको बताउनुभएको छ । मोरङको सुन्दरहरैंचामा आईतबार भएको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यसो भन्नुभएको हो।

उहाँले १० बुँदे सहमति कार्यदलले पार्टी केन्द्रलाई दिएको निर्णय नभएर सुझाव मात्र रहेकाले पार्टीले त्यसलाई सिर्जनात्मक र रचनात्मक ढंगले कार्यान्वयन गर्दै जाने उल्लेख गर्नुभयो । उहाँले २०७७ साल फागुन २३ गतेको अदालतको फैसलापछि पार्टी कानुनी र राजनीतिक रुपले २०७५ जेठ २ को अवस्थामा पुगेपनि त्यहि अवस्थामा जस्ताको तस्तै रुपान्तरण हुन नसक्ने बताउनुभयो । उहाँले अहिलेको एमाले पुरानो एमाले नभई माओवादीलगायतका बिभिन्न दलबाट आएका नेता कार्यकर्तासहितको एमाले भएकाले सोही अनुसार नेतृत्वले कार्यान्वयन गर्ने बताउनुभयो। uml 2

महासचिव पोख्रेलले त्यतिबेला जिम्मेवारी लिएर कृयाशिल अवस्थामा रहेको सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ्ने बताउनुभयो । जेठ २ भनियो भने माओबादी र अन्य थपिएकाहरु छुट्ने भएकाले जेठ २ कानुनी राजनीतिक हिसावले भएपनि यान्त्रिक ढंगले मात्र बुझ्न नहुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘यो एमाले हिजोको एमाले होइन बिकसित एमाले हो, नयाँ अवस्थामा आएको एमाले हो एकताको भावनाका साथ अघि बढेको पार्टी हो ।’ उहाँले राष्ट्रिय हित बिपरित रहेको अवस्थामा नेकपा एमाले एमसीसी पारित गर्ने पक्षामा नरहेको समेत बताउनुभयो । uml 1

कार्यक्रममा एमाले सचिव तथा प्रदेश १का मुख्यमन्त्री भीम आचार्यले पार्टी भित्रको अन्तरसंघर्षमा आफुले माधवकुमार नेपाललाई साथ दिएको भएपनि पार्टी बिभाजनको पक्षमा लाग्न नसकेको बताउनुभयो । उहाँले माधवकुमार नेपालको पक्षमा लागेकाहरु केहि समय पछि यताउता घुमफिर गरेर मूल घरमै फर्किने दावी गर्नुभयो । maha sachib

यस्तै नेता लालबाबु पण्डितले माधवकुमार नेपाललगायतका नेताहरुले पदका लागि पार्टी बिभाजन गरेको दावी गर्नुभयो। उहाँले माधव नेपाललगायतका नेताहरुलाई भगुवाको संज्ञा दिंदै उनीहरुको पछि लाग्नेहरुले पछुताउनु पर्ने अवस्था आउने बताउनुभयो । एकता नचाहनेहरु पदको पछाडी लोभिएर बत्तिमा झुम्मिएका पुतली जस्तै गरी गएको भन्दै उहाँले अब उनीहरुको चर्चा गर्दै समय बिताउन नहुने बताउनुभयो ।

भेलालाई सम्बोधन गर्दै एमाले नेता भानुभक्त ढकालले एमाले अब मंसिरमा हुने महाधिवेशको तयारीमा लागेकाले सोही अनुसार लाग्न कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो। आगामी निर्वाचनमा जित हात पार्ने गरि एकढिक्का भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले माधव कुमारलगायतका नेताहरुले आफ्नै समुहका नेताहरुको सुझाव बिपरित पार्टी फुटाउने काम गरेको समेत बताउनुभयो। अहिले अलमलमा परेर अन्यत्र लागेका नेता कार्यकर्तालाई धेरै गाली नगर्न भन्दै उहाँले उनीहरु बिस्तारै एमालेमै फर्किने बताउनुभयो ।

भेलामा एमाले नेता गुरु बराल, डा.शिवमाया तुम्बाहाम्फे, जीवन घिमिरेलगायत नेताहरुले समेत सम्बोधन गर्नुभयो भने एमाले नेता घनश्याम खतिवडा, बिनोद ढकाल, राजकुमार ओझालगायतको उपस्थिति थियो।

कार्यक्रममा सुनवर्सी, रतुवामाई, सुन्दरहरैंचालगायतका ठाउँबाट बिभिन्न पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका थिए। कार्यक्रममा जनसांस्कृतिक महासंघका कलाकारहरुले गीत तथा नृत्यसमेत प्रस्तुत गरेका थिए।

भेलामा मोरङ जिल्ला भरिका वडा कमिटी र सो भन्दा माथिका नेता कार्यकर्ताको सहभागिता रहेको एमाले सुन्दरहरैंचाका अध्यक्ष मातृका ढकालले जानकारी दिनुभयो।

माधव कुमार नेपालले नयाँ पार्टी गठन गरेपछि मोरङमा भएको यो एमालेको पहिलो ठूलो भेला हो । मोरङ एमालेका केही जिल्ला नेतासहित केही कार्यकर्ता मात्र नेकपा एकिकृत समाजबादीमा लागेका छन् ।