इटहरी/ घटना १ :– २०७७ मंसिर २५ गते राती साढे ७ बजेतिर कोशी राजमार्ग अन्तरगत सेउती जंगलमा तराई मुलको जस्तो देखिने अन्दाजी ४५/५०बर्षका मानिसलाई सवारी साधनले ठक्कर दिएर फरार हुन्छ ।

घटनामा शख्त घाईते भएका ति ब्यक्तिको उपचारका क्रममा धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सोहि रात १२ बजेतिर मृत्यु हुन्छ । मृतकको हालसम्म पहिचान नभएको अनि आफन्तहरु पनि कोहि हालसम्म सम्पर्कमा नआएका अनि दुर्घटना गराउने सवारी साधन (गाडी) अझै पहिचान हुन सकेको छैन ।

घटना २ :– २०७७ माघ ३० गते बिहान साढे ५ बजेतिर इटहरी १ आँपगाछी चोकमा धरान तर्फ जाँदै गरेको अल्फाबेट नखुलेको ३१४८नम्बरको मोटरसाईकलले पैदलयात्री ६२ बर्षीय पूर्णबहादुर मगरलाई ठक्कर दिएर फरार हुन्छ । मगर शख्त घाईते हुन्छन । दुर्घटनामा घाईते भएका मगरको उपचारका क्रममा फागुन २ गते बिहान साढे ६ बजेतिर मृत्यु हुन्छ । तर सो नम्बरको मोटरसाईकल अहिले सम्म पत्ता नलाग्दा चालक पक्राउ पर्न सकेका छैनन्।

घटना ३ :– २०७८ साल असार १३ गते राति पौने ८ बजे कोशी राजमार्ग अन्तरगत इटहरी २ मा निर्माणाधिन गरिमा होटल अगाडी उत्तरबाट इटहरी तर्फ आउँदै गरेको पहिचान नै नभएको सवारी साधनले इटहरी ५ बस्ने पैदलयात्री बाजे भन्ने कृष्ण थापालाई ठक्कर दिएर फरार हुन्छ । दुर्घटनामा गम्भिर घाईते भएका थापालाई तुरुन्त बिराटनगरस्थित बिराटनगर अस्पतालमा लगिन्छ तर मगरको उपचारका क्रममा असार १५ गते मृत्यु हुन्छ ।

दुर्घटना गराउने सवारी साधन हालसम्म पत्ता लाग्न सकेको छैन । सवारी साधन पत्ता नलागिसकेपछि मानिस पक्राउ पर्ने कुरै भएन ।

माथि उल्लेखित तीनवटा घटना इटहरी प्रहरीको कमाण्ड प्रहरी नायव उपरीक्षक अर्जुन केसीले सम्हालेदेखि यताको मात्र घटना हुन्। यि त भए दुर्घटना गराएर मानिसको हताहति भईसकेपछि फरार भएकाहरुको विवरण । यस्तै अन्य घटनाहरु त निकै नै भएका होलान । जो हालसम्म सुल्झन सकेका छैन । मोटरसाईकल चोरी देखि अन्य घटनाहरु पनि असंख्य हुन्छन नै यसैका लागि मुख्य राजमार्गमा सबै घटनाको निगरानी गर्न सिसी क्यामेराको आवश्यकता महशुस गरिएको छ । इटहरीमा सिसी क्यामेरा नजोडिएका पनि हैन तर जोडिएका अधिकांस सिसी क्यामेराहरु काम नलाग्ने कामै नगर्ने भईसकेका छन् ।

यसैका लागि समुदाय प्रहरी पालिका समितिको बैठकमा समितिका सह संयोजक प्रहरी नायव उपरीक्षक अर्जुन केसीले इलाका प्रहरी कार्यालय इटहरीको तर्फबाट सिसी क्यामेराको माग गर्नुभयो।

यसपछि बन्यो कार्यदल
समुदाय प्रहरी पालिका समिति इटहरीले इटहरी उपमहानगरपालिका भित्र शान्ति सुरक्षा व्यवस्था अभिवृद्दी गर्न बिविध कार्यक्रम सञ्चालन गर्दै आईरहेको छ । बर्तमान समयमा सुरक्षा व्यवस्थालाई मजबुत बनाउन र भएका अपराधको सफल अनुसन्धान गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने सिसी क्यामेरा इटहरीमा सिमित मात्रामा रहेको र त्यो पनि इटहरीको मुख्य चोकमा मात्र स्थापना भएको अनि जडान गरिएका क्यामेराहरुले पनि उचित मर्मत सम्भारको अभावमा प्रभावकारी रुपमा काम गर्न नसकिरहेको पाईएको छ।

यसर्थ सवारी दुर्घटना, सवारी साधनको चोरी र सवारी साधनले ठक्कर दिएर भाग्ने घटनाहरुमा बृद्दि भईरहेको र त्यसमाथि पनि हाल निर्माण सम्पन्न हुने क्रममा रहेको सेउती खोला देखि खनार सम्मको कोशी राजमार्ग खण्ड फराकिलो हुन गई दिनहुँ जसो भईरहेका सवारी दुर्घटना र दुर्घटना पश्चात सवारी फरार हुने क्रम बढिरहेको अवस्थालाई मध्यनजर गरी उत्तरमा सेउती खोला देखि दक्षिण खनारको प्रगति टेक्सटायलसम्म सिसी क्यामेरा जडान गरी इटहरीको सुरक्षा व्यवस्थालाई सुदृढ पार्ने योजनाको बिस्तृत अध्ययन गरि प्रतिवेदन पेश गर्न कोशी राजमार्गमा सिसी क्यामेरा जडानका लागि अध्ययन गर्न समिति निर्माण भएको हो। cc

समितिमा रहेका अधिकांश सदस्यहरुले सेउती खोलादेखि खनारको प्रगति टेक्सटायलसम्मका स्थानको अवलोकन गरेर बिभिन्न २९ठाउँमा ३०वटा सिसी क्यामेरा जडान गर्नुपर्ने र लागत अनुमान तयार गर्न इटहरी उपमहानगरलाई अनुरोध गर्ने निर्णय गरेको थियो ।

खनारको प्रगति टेक्सटायलसम्म देखी सेउती पुलसम्मको कोशी राजमार्गका मुख्य मुख्य चोकहरुमा जम्मा ३० वटा सिसी क्यामेरा जडान गर्दा सामान्य खालको सिसी क्यामेरा जडान गर्दा २१ लाख १४ हजार ७ सय रुपैँया, दुई मेघापिक्सलको क्यामेरा जडान गर्दा ३९लाख २हजार ५० रुपैँया र ४ मेघा पिक्सलको क्यामेरा जडान गर्दा ४९लाख २०हजार ५सय ५० रुपैया लाग्ने देखिएको छ ।

बुझायो कार्यदलले प्रतिबेदन
समुदाय प्रहरी पालिका समितिका सहसंयोजक प्रहरी नायव उपरीक्षक अर्जुन केसी लगायत समितिका सदस्यहरु सम्मिलित टोलिले शुक्रबार इटहरी उपमहानगरपालिका मेयर द्वारीकलाल चौधरीलाई प्रतिबेदन बुझाएको छ।

प्रतिबेदन बुझ्दै मेयर चौधरीले उपमहानगरपालिकाले यथासक्य सहयोग गर्ने प्रतिबद्दता जनाउनुभएको छ ।