प्रदेश १ मुख्यमन्त्रीमा राजिव कोइराला र राजेन्द्र राईको दाबी

  • न्युजडेस्क
  • प्रकाशित मिति: भदौ १८, २०७८

मोरङ्ग/ प्रदेश नम्बर १ मा नेकपा एमालेका १०जना सांसदले नेकपा एकिकृत समाजबादी रोजेसँगै सरकार अल्पमत परेपछि विपक्षी गठबन्धनले नयाँ सरकार निर्माणका लागि कसरत शुरु गरेका छन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले बिहीबार गरेर प्रदेशसभामा गठबन्धनलाई सशक्त बनाएर अघि बढ्ने निर्णय गरेका हुन् ।

प्रदेश नम्बर १को मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दल नेता राजीव कोइराला र एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई आकांक्षी देखिएका छन्।

कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले एकीकृत समाजवादीका १०जना प्रदेश सांसदले दल रोजेको प्रमाणपत्र प्राप्त गरेर संसदीय दलको नेता चयन गरेपछि प्रदेश सरकार गठन प्रक्रिया शुरु गर्ने बताउनुभएको छ । प्रदेश १मा एमालेका १० सांसदले बुधबार नवगठित एकीकृत समाजवादी रोजेपछि मुख्यमन्त्री भीमप्रसाद आचार्य नेतृत्वको सरकार अल्पमतमा परेको हो ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रदेश सांसद राईले प्रदेश सरकारको नेतृत्व आफूलाई दिने प्रारम्भिक सहमति गठबन्धन दलका नेताहरूबीच भएको बताउनुभएको छ । गठबन्धनमा रहेका दलका बीचमा सरकारको नेतृत्व आँफुलाई नै दिने एकखाले प्रारम्भिक सहमति भएको भन्दै यो बिषयमा पुनः बसेर छलफल गरी सहमतिमै टुंग्याउने बताउनुभएको छ । उहाँले एकीकृत समाजवादीका सांसद अत्यन्तै कठिन परिस्थितिमा ठूलो जोखिम मोलेर आएकाले गठबन्धन दलले प्रदेश सरकारको नेतृत्व दिनेमा बिश्वस्त रहेको बताउनुभयो ।

कांग्रेसले पनि गठबन्धन दलभित्रको सबैभन्दा ठूलो दलको हैसियतमा प्रदेश सरकारको नेतृत्व पाउनुपर्ने अडान कायमै राखेको छ । कांग्रेस संसदीय दलका नेता कोइरालाले प्रमुख प्रतिपक्षी दलले जहिले पनि सरकारको दाबी राख्ने भएकाले अब प्रदेश सरकारको नेतृत्व कसले पाउने बिषय नै उठ्नु नपर्ने बताउनुभयो । सरकारको नेतृत्वका विषयमा कुनै किसिमको बिवाद नहुने र आँफुहरु बीच सहमतिमा नै अघि बढ्ने सहमति भएको कोइरालाले बताउनुभयो ।
सरकारको नेतृत्वका बिषयमा केन्द्रीय गठबन्धनको निर्णय नै महत्वपूर्ण हुने कोइरालाको भनाइ छ । केन्द्रका नेताहरुसँग दोहोरो सम्वाद भइरहेकाले कुनै हतारो नरहेको भन्दै उहाँले जे हुन्छ त्यो सहमतिमा नै हुन्छ भन्नुभयो ।

एमालेका १० जना प्रदेशसभा सदस्य एकीकृत समाजवादीमा लागेपछि एमालेका सांसदको संख्या ४१मा झरेको छ । कांग्रेसका २१, माओबादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका १÷१ जना प्रदेश सांसद छन् ।

केन्द्रमा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता प्राप्त गरेको भोलिपल्ट नै आचार्यलाई मुख्यमन्त्रीमा नियुक्त गर्नु नै असंवैधानिक रहेको विपक्षी गठबन्धनको दाबी छ ।

एमालेका केन्द्रीय सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले कांग्रेस नेता कोइराला र माओवादी नेता आङ्बोलाई आफ्नो पार्टीको सरकारलाई सघाउन वा सरकारको नेतृत्व गर्न आग्रह गरेकाले गठबन्धनको बैठक बसेको थियो । बैठकमा गठबन्धन टुटाउने गरी कुनै दलबाट गतिविधि नगर्ने समझदारी बनेको छ ।

-इकान्तिपुर


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved