काठमाण्डौ/ अभिनेत्री केकी अधिकारी नेपाली कला क्षेत्रकी सफल र बौद्धिकमध्येकी मानिन्छिन् । चाहे पर्दामा देखिँदा होस् वा पर्दाबाहिर । कुनै सामाजिक बिषयमा आफ्नो कुरा राख्दा, उनका कुराहरु तार्किक हुन्छन्। यीनै बौद्धिक अभिनेत्रीले हालसालै आफूले अहिलेसम्म विवाह नगर्नुको कारणबारे खुलाएकी छन्।

आफ्नो युट्युब च्यानलमा प्रसंशकहरुको प्रश्नमाथि जवाफ दिँदै राखिएको एक भिडियोमा केकीले आफ्नो बिवाहको बिषयमा बोलेकी हुन्। उनलाई सोधिएको ‘तपाईंलाई बिहे गरम गरम किन नलागेको?’ भन्ने प्रश्नमा उनले त्यस्तो नभएर आफू बिवाहप्रति सकारात्मक नै रहेको बताएकी छन्। उनले भनेकी छन्, ‘बिहे गरम गरम त कसैलाई पनि हुन्छ जस्तो लाग्दैन। जो जतिले संसारमा बिहे गरेका छन्, बिहे गरम गरम लागेर त गरेका होइनन् होला। तर, सबैभन्दा राम्रो कुरा भनेको अहिले मलाई नगरम नगरम पनि भएको छैन।’

सो भिडियोमा उनले आफूलाई नेपाली कलाक्षेत्रमा सबैभन्दा मन पर्ने अभिनेता सौगात मल्ल रहेको खुलाएकी छन्। त्यसबाहेक आफूले हाल तेश्रो पटक अमर न्यौपानेद्वारा लिखित उपन्यास ‘सेतो’ धर्ती पढिरहेको उनले बताइन्। उनले भनेकी छिन्, ‘अहिले म अमर न्यौपानेको सेतो धरती तेस्रो पटक पढ्दै छु। यसको कारण ‘बोक्सीको घर’ चलचित्र लागेपछि थाहा पाउनुहुन्छ।’

केकीले निर्माण गरिरहेको चलचित्र ‘बोक्सीको घर’ २०७३ सालमा मण्डला थिएटरमा अभिनेत्री सरिता गिरीको एकल अभिनयमा प्रदर्शन भएको नाटकमा आधारित रहेको छ। सो चलचित्रलाई सुभ्रतराज आचार्य र सुलक्षण भारतीले निर्देशन गरिरहेका छन्।

हेर्नुहोस भिडियो :