इटहरी/ इटहरीको इतिहासका बिभिन्न पक्षबारे उजागर गरिएको पुस्तक इतिहासमा इटहरी विमोचन गरिएको छ। नेप्ली मिडिया प्रा.लि.ले प्रकाशन गरेको पुस्तकलाई इटहरीका बिभिन्न क्षेत्रका ऐतिहासिक व्यक्तिहरुको उपस्थितीमा बिमोचन गरिएको हो।

इटहरीका पहिलो मन्त्री रामकुमार सुब्बा, पहिलो मेयर तथा वर्तमान प्रदेश सांसद सर्वध्वज साँवा, मेयर द्वारिकलाल चौधरी, इटहरीका पहिलो फिल्म निर्माता तथा जग्गादाता हेमनारायण चौधरी र इटहरीका पहिलो स्कुल सञ्चालक डेबिट सुब्बाले संयुक्त रुपमा पुस्तक बिमोचन गर्नुभएको हो।

३३६ पृष्ठको सो पुस्तकमा इटहरीको कला, संगीत, साहित्य, व्यापार, शिक्षा, स्वास्थ्य, खेलकुदलगायत बिभिन्न बिषयसँग सम्बन्धित ऐतिहासिक घटनाक्रमहरु समावेश गरिएको छ। वर्तमान अवस्थाका साथै इटहरीको भावि सम्भावनाहरुसमेत पुस्तकले उजागर गरेको छ ।

कार्यक्रमका अवसरमा इटहरीको इतिहासलाई उजागर गर्ने, अभिलेखन गर्ने र बिभिन्न समयमा प्रकाशन गर्ने तीनजना व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अग्रज पत्रकार कृष्णविनोद लम्साल, अग्रज पत्रकार तथा राजनीतिज्ञ रमेश बिष्ट र संगीतकर्मी तथा सामाजिक अभियानकर्मी राजु केसी सम्मानित हुनुभएको छ। तीनैजना इटहरीको इतिहासलाई खोज गरी उजागर गर्ने कार्यमा लामो समयदेखि सक्रिय हुनुहुन्छ । IMG_9416

बिमोचन कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बाले पुस्तकले भविष्यको लागि अझ दायित्व थपेको बताउनुभयो । उहाँले अझ परिस्कृत गर्दै आगामी संस्करण प्रकाशन गर्न सुझाव दिनुभयो । उहाँले इटहरीको ऐतिहासिक घटनाबारे समेत बताउनुभएको थियो ।

यस्तै पुर्व मेयर सर्वध्वज साँवाले इटहरीको लागि महत्वपूर्ण पुस्तक प्रकाशन भएको र यसले धेरै बिषय समेटेको बताउँदै कुनै विषय छुटेका भए पुनर्लेखन गरेर समेट्न सुझाव दिनुभयो ।

यस्तै इटहरीका मेयर द्वारिकलाल चौधरीले पुस्तक प्रकाशन भएकोमा सह्रना गर्दै यो ऐतिहासिक उपलब्धी भएको बताउनुभयो। इटहरी बन्नमा सबैको योगदान रहेको बिषय किताबमा समेटिएको पाइएको बताउँदै उहाँले इटहरीका बिभिन्न ठाउँहरुको नामाकरणबारे चर्चा गर्नुभएको थियो।

विभिन्न पार्टी तथा संघसंस्थाका प्रतिनिधि र विभिन्न क्षेत्रका नगरवासीहरुको उपस्थिती रहेको कार्यक्रममा जनता समाजवादी पार्टीका प्रदेश सदस्य तथा आदिवासी जनजाति महासंघ सुनसरी अध्यक्ष राम राई, एमाले नगर अध्यक्ष यामकुमार सुब्बालेसमेत शुभकामना दिनुभएको थियो।

कार्यक्रममा नेप्ली मिडिया प्रा.लि.का निर्देशक तथा पुस्तकका संकलक तथा सम्पादक हिमाल दाहालले पाँचबर्षको तयारीमा पुस्तक प्रकाशन भएको जानकारी दिँदै धेरै नगरवासीहरुले सहयोग गरेको जानकारी दिनुभयो। दाहालले पुस्तकमा भएका कमि कमजोरीलाई सच्याएर अर्को संस्करण प्रकाशन गर्ने बताउनुभयो। उहाँले इतिहासलाई बेलैमा अभिलेख गर्नसमेत आग्रह गर्नुभयो।

कार्यक्रममा पुस्तक प्रकाशन टिममा रहेर विविध जिम्मेवारी निभाउने विभिन्न व्यक्तिहरुलाई धन्यवादपत्र समेत दिइएको थियो । कार्यक्रम भूमिका पाख्रिनले सञ्चालन गर्नुभएको थियो।

नेप्ली मिडिया प्रा.लि. ६ बर्षदेखि वृत्तचित्रनिर्माण, तालिमहरु, रिसर्च, बिज्ञापन, प्रबद्र्धनलगायतका क्षेत्रमा सक्रिय छ। ‘इतिहासमा इटहरी’ नामक वृत्तचित्रनिर्माण गरेर प्रदर्शनसमेत गरिसकेको नेप्लीले बिराटनगरको ऐतिहासिक वृत्तचित्र ‘बिराट बिराटनगर’ लगायतबिभिन्न स्थान, संस्थाहरुको वृत्तचित्रनिर्माणको काम गरिसकेको छ ।