बेलबारी/ २०७७ साल भाद्र १२ गते मोरङ्गको बेलबारी ५ कसेनीमा धारिलो हतियार प्रहार हुँदा ४० बर्षीय चन्द्रकुमार राईको ज्यान गयो । स्थानीय लोहन्द्रा खोलामा भएको बाँसको पुल उपयोगको बिषयमा ग्याङफाइट भएको थियो ।

ग्याङ्गफाईटका क्रममा धारिलो हतियार लागेर घाइते भएका राईको उपचारको क्रममा बिराटनगरमा मृत्यु भएको थियो । घटनामा बेलबारी नगरपालिका ५ तेलकुडीका ३१बर्षीय बिनयकुमार सरदार, ग्रामथान गाउँपालिका–६ का ३४बर्षीय जितेन्द्र चौधरी, ३१बर्षीय दीपेन्द्र चौधरी, ३२बर्षीय बीरेन्द्रकुमार खाँ, बेलबारी–६ का ३८बर्षीय बिशालकुमार खवास र ३१बर्षीय राजेन भनिने राजेन्द्र राई र ग्रामथान २का ३१ बर्षीय कृष्ण चौधरी संलग्न थिए ।

प्रहरीले अगिल्लो बर्ष नै कृष्ण बाहेक ६जनालाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो । कृष्ण भने सोहि समयदेखि फरार थिए । घटनाको मुख्य अभियुक्त कृष्ण नै रहेको प्रहरीको दावी छ ।

शनिबार पक्राउ परे कृष्ण
करिव १ बर्षदेखि फरार रहेका ग्रामथान–२ का चौधरी मोरङ्गको सुन्दरहरैँचा स्थित बाँसबारीबाट शनिबार पक्राउ परेका छन् । चौधरीलाई जिल्ला प्रहरी कार्यालय मोरङको बिशेष टोलिले पक्राउ गरेको हो।

घटनापछि फरार चौधरी सुनसरीको दुहबीमा लुकिछिपी बस्दै आएको अनुसन्धानका क्रममा खुलेको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक(डिएसी) दिपक श्रेष्ठले जानकारी दिनुभयो।

पक्राउ परेका चौधरीलाई आईतबार मोरङ जिल्ला अदालतमा उपस्थित गराएको प्रनाउ श्रेष्ठले बताउनुभयो ।