सुनसरी/ २०६२ सालमा धनकुटाको तत्कालिन घोर्लिखर्क गाबिसका नगेन्द्र सिंजाली मगर र बागदल खड्काको घरमा सबैजनालाई नियन्त्रणमा लिएर लुटपाट भएको थियो।

लुटपाट गर्नुभन्दा अगाडी डाका समुहले आँफुहरु माओबादी कार्यकर्ता रहेको र आँफुहरुलाई सहयोग गर्न आग्रह गरेको थियो। आग्रहकै क्रममा डाका समुह घरभित्र पसेर सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको थियो।

सो घटनाका मुख्य पात्र थिए धनकुटाको तत्कालिन घोर्लिखर्क गाबिस ९का पदम बिश्वकर्मा। उनिहरुले सो समयमा दुईपटक लुटपाट गरेको खुलेको छ। घटनाको बिषयमा पिडितहरुले तत्कालिन समयमा मुद्दा दर्ता गरेका थिए।

धनकुटा जिल्ला अदालतले २०६२ भाद्र १४गते गरेको फैसलाले बिश्वकर्मालाई डाका मुद्दामा ६ बर्ष कैद र ४५ हजार रुपैँया जरिवाना तोकेको थियो। यस्तै धनकुटा जिल्ला अदालतले नै २०६२ साल असोज ११गते फेरी अर्को मुद्दाको फैसला गर्दै ९ बर्ष कैद र १ लाख ५५हजार ५सय ५०रुपैया जरिवाना ठहर गर्दै दुईटा डाका मुद्दामा जम्मा १५ बर्ष कैद र २ लाख ५ सय ५० रुपैँया जरिवाना ठहर गरेको थियो।

लुटपाटपछि मोरङ्गको मिक्लाजुङ गाउँपालिका ३स्थित अ‍ैलेनि जग्गामा घरटहरो बनाएर लुकिछिपी बस्दै आएका बिश्वकर्मालाई घटना भएको १६ बर्षपछि श्रावण २९गते जिल्ला प्रहरी कार्यालय मोरङ्गको बिशेष टोलिले पक्राउ गरेर मोरङ जिल्ला अदालतमा उपस्थित गराएर कैद जरिवाना असुलका लागि मोरङ्ग कारागारमा बुझाएको मोरङ्ग प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताउनुभयो।

यसरी मोरङ्गमा प्रहरीले एकपछि अर्को उत्कृष्ट काम गर्दै नेपाल प्रहरीको साख बढाईरहेको छ। केहि समय अगाडी पनि सुन्दरहरैँचा १०स्थित शिव पाञ्चायन ज्वेलर्समा हतियार सहित प्रवेश गरेर लुटपाटको असफल प्रयास गर्ने लुटेरा समुहको पनि मिहिन अनुसन्धान गर्दै घटना भएको दुईसाता नबित्दै सबै लुटेरा नियन्त्रणमा लिन सफल भएको थियो।