इटहरी/ जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी सहायक निरीक्षक भक्त बिष्ट सम्मानित हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको भवन उद्घाटन पछि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिष्टलाई सम्मान गर्नुभएको हो।

एक महिनाको अवधिमा २ सय ३८जना फरार अभियुक्त पक्राउ गर्नमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै महानिरीक्षक क्षेत्रीले बिष्टलाई सम्मान गर्नुभएको हो। पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते,जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार आदिमा सजाय तोकिएकाहरु छन् ।

सुनसरी प्रहरीले फरार अभियुक्त पक्राउ गरेपछि आपराधिक घटना घटाई समाजमा निस्फिक्रि हिड्ने प्रवृतिको अन्त्यका लागि टेवा पुग्ने र अपराध गरेर जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश प्रवाहित भएको छ।

पक्राउका क्रममा २०६६साल बैशाख १६गते ५ बर्षीया आफ्नै नातिनी (सोशिला कुमारी खत्वे)लाई घाँटी बटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडेर फरार रहेका बसन्त खत्वे समेत रहेका छन।

बिष्टसँगै भवन निर्माणमा सहयोग पुर्‍याउनेलगायत बिभिन्न ब्यक्ति सम्मानित भएका छन्।