सुनसरी/ इटहरी उपमहानगरपालिकाका नगरप्रमुख द्वारिकलाल चौधरीले खोला,पैनी,बाटो मिचेर बनाएका संरचना भत्काउने “एक्सन” शुरु गरेको बताउनुभएको छ।

उहाँले खोला, पैनी र बाटोको अधिकार क्षेत्र मिचेर बनाएका संरचनाका कारण पानीको वहाव छेकिएर जनता डुवानमा पर्ने गरेकाले भत्काउने एक्सन शुरु गरिएको बताउनुभयो ।

पत्रकारको जिज्ञासामा प्रमुख चौधरीले भन्नुभयो “कहाँ कहाँ भत्काउने भनेर बतायो भने स्टेअर्डर लिन अदालत गईहाल्छन त्यसैले पहिले एक्सन लिएपछि मात्र थाहा हुन्छ ।” बिहान इटहरी १२को भारवी कलेज पश्चिम बाटोको छेउमा गरिएको जग्गा घेरावारा इटहरी उपमहानगरपालिकाको डोजरले भत्काइदिएको छ। calvart

उपमहानगरमा अनुमति नलिइकन बाटो मिचेर संरचना बनाएको र त्यसले पानीको बहाव छेक्ने भएकाले भत्काएर अस्थायी रुपमा हयूम पाइप राखिएको प्रमुख चौधरीले बताउनुभयो । यसैगरि इटहरीको १३ र १४ नम्वर हँुदै वडानम्वर १२ राजमार्ग जोडने वहुवर्षीय योजनामा एउटा कल्भर्ड थुनिने गरि बनाइएको संरचना पनि भत्काएर वहाव खोलिएको उहाँले बताउनुभयो ।

नजिकै रहेको प्लाई उद्योगले समेत पानीको वहाव थुनेकाले उद्योगपतिसँग कुरा गरिएको प्रमुख चौधरीले बताउनुभयो । उहाँले इटहरीवासीलाई डुवानबाट बचाउन यस्ता अनाधिकृत संरचनाहरु धेरै ठाँउमा भत्काइने बताउनुभयो ।

अनाधिकृत संरचना हटाउन सूचना गरिने नमानेमा उपमहानगरपालिकाले भत्काएर नियमानुसार लागेको खर्च असुलउपर गराइने बताउनुभयो ।