सुनसरी/ सुनसरी प्रहरीको नेतृत्व परिवर्तन भएसँगै एक महिनाको अवधिमा २ सय ३८जना फरार अभियुक्त पक्राउ परेका छन्। पक्राउ पर्नेहरुमा कर्तव्य ज्यान, डाका, अपहरण तथा शरिर बन्धक, कुटपिट, चोरी, किर्ते,जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचार आदिमा सजाय तोकिएकाहरु छन् ।

बिभिन्न मितिमा भएका बिविध आपराधिक घटनामा संलग्नहरुलाई सुनसरी जिल्ला अदालतबाट कैद र जरिवाना तोकी फैसला भएका तर तोकिएको सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरु खोजी फैसला कार्यान्वयन गर्न जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले श्रावण १ गते देखी चलाएको अभियानमा २३८ जनालाई नियन्त्रणमा लिएर सुनसरी जिल्ला अदालतमा पेश गरेको सुनसरी प्रहरीले जनाएको छ।

सुनसरी प्रहरीको फरार पक्राउको अभियानले आपराधिक घटना घटाई समाजमा निस्फिक्रि हिड्ने प्रवृतिका बिरुद्द लक्षित रहेको र अपराध गरी जतिसुकै भागे पनि उन्मुक्ति पाउन सकिदैन वा कानूनी दायराबाट उम्कन सकिदैन भन्ने सन्देश प्रवाहित भएको छ।

पक्राउ परेका फरार प्रतिवादीहरुबाट ४९बर्ष कैद सजाय फस्यौट भएको छ भने ९ लाख ३५हजार ३सय ५९ रुपैया जरिवाना असुल भएको छ।

फरार पक्राउका क्रममा २०६६साल बैशाख १६गते ५ बर्षीया आफ्नै नातिनी (सोशिला कुमारी खत्वे)लाई घाँटी वटारी मारेर प्लाष्टिकको बोरामा हालेर खेतमा गाडेर फरार रहेका बसन्त खत्वे समेत रहेका छन। बसन्त खत्वेलाई सुनसरी जिल्ला अदालतबाट जन्मकैद तोकिएको थियो।